डोल्पाको धो तरापमा डोल्पो महोत्सव हुँदै


नेपालगञ्ज -विश्वकै सवैभन्दा उचाईमा रहेको वस्ती डोल्पाको धो तरापमा २०७६ भदौ २४ देखि २८ गतेसम्म डोल्पाको कला, सभ्यता र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले डोल्पा महोत्सव हुने आयोजक डोल्पो वुद्ध गाउँपालिकाले बताएको छ । माथिल्लो डोल्पाको सवैभन्दा पुरानो विद्यालय क्रिष्टल माउन्टेन विद्यालयको रजतजयन्तीका अवसरमा यो महोत्सव हुने भएको छ । यो विद्यालय माथिल्लो डोल्पामा २०५० सालमा सरकार र एक्सन डोल्पाको सहकार्यमा स्थापना भएको थियो ।

यो महोत्सवमा सांस्कृतिक प्रदर्शनी, अन्तरविद्यालय खेलकुद, हाजिरीजवाफ तथा अतिरिक्त क्रियाकलापको प्रतिस्पर्धा हुनेछ । महोत्सवमा फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि हुनेछन् । सवैभन्दा उचाईमा हुने महोत्सवमा स्वास्थ्य शिविर पनि संचालन गरिनेछ ।

माथिल्लो डोल्पाको तीन गाउँपालिका डोल्पोबुद्ध, छारका ताङसोङ, शेफोक्सुन्डो गाउँपालिकामा २००० घरधुरी तथा १० हजार जनसंख्या रहेको छ । माथिल्लो डोल्पामा शेफोक्सुन्डो ताल, राष्ट्रिय निकुञ्ज, पुथा हिमाल, प्राचीन गुम्वा तथा त्रिपुरासुन्दरी मन्दिरजस्ता सांस्कृतिक प्राकृतिक सम्पदाहरु रहेका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा हुने डोल्पा महोत्सवमा उपप्रधानमन्त्री, शिक्षामन्त्री, जनप्रतिनिधि तथा १०० भन्दा बढी विदेशी पाहुनाहरुको सहभागीता हुने आयोजकले बताएका छन् ।

प्रकाशित मितिः     १८ भाद्र २०७६, बुधबार ०९:००  |