सिटिजन्स बैंकको ८२औँ शाखा बाँकेको कोहलपुरमा


काठमाडौँ, १८ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२औँ शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । आज बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले शाखाको उद्घाटन गरे । समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।

कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत ज्ञानज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु द्रुत गतिमा अगाडि बढाइरहेको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु विस्तार गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखा रहित बैकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः     १८ भाद्र २०७६, बुधबार १९:३५  |