निर्यातको ओरालो यात्राः उत्पतिको प्रमाणपत्र लिनेको भिड पहिले जस्तो छैन


नेपालगञ्ज १९ साउन -नेपालबाट निकासी हुने वस्तुको उत्पतिको प्रमाणपत्र ( सर्टिफिकेट अफ ओरिजन) लिन नेपालगञ्ज उद्योग वाणिज्य संघमा वर्षेनी भिड घट्दैछ । केही वर्ष अघिसम्म त्यस्तो प्रमाणपत्र लिन आउनेको भिड थामिनसक्नु हुन्थ्यो । अधिकार प्राप्त कर्मचारीलाई हस्ताक्षर गर्न भ्याईनभ्याई भएको सम्झिन्छन् संघका कार्यालय प्रमुख अजयसिंह सिजापति । ‘अहिले कमी आएको छ ।’– उनी भन्छन् ।

नेपालबाट निकासी हुने वस्तुको लागि आवश्यक पर्ने यो प्रमाणपत्र जारी गर्ने अधिकार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पाएका छन् । यहाँ उत्पादन भएका कुनै पनि सामाग्री निर्यात गर्नुपूर्व यस्तो प्रमाणपत्र लिनै पर्छ । तर निर्यात घटेसंगै प्रमाणपत्र लिन आउनेको संख्या पनि कमी आएको बताउँछन्, संघका कर्मचारी बिक्रमसिंह बिक । संघमा उक्त प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकार अध्यक्ष, महासचिव, कार्यालय प्रमुख सिजापति र बिकलाई छ ।

लामो समय प्रमाणपत्र दिने काम गर्दै आएका बिक भन्छन्,–‘आज भन्दा दुई तीन वर्ष अघि प्रमाणपत्र लिन आउनेको थामिनसक्नु भिड हुन्थ्यो । अहिले त खासै छैन । फाटफुट आउँछन् ।’ बिकका अनुसार, बाँकेमा उत्पादन हुने कयौं बस्तुको निर्यात ठप्प भएको छ भने जडिबुटी, रोजिन, कत्थाको निर्यात बर्षेनी घट्दैछ ।

एउटै आर्थिक वर्षमा ब्यापार घाटाको अवस्था यस्तो छ

पश्चिम नेपालकै सबैभन्दा ठुलो नाकाको रुपमा रहेको नेपालगञ्ज नाकाबाट मात्र गत आर्थिक बर्षमा करिब ४९ अर्बको ब्यापार घाटा भएको छ । गत आर्थिक बर्ष २०७५र०७६ मा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ५१ अर्ब १७ करोड १२ लाख भन्दा बढीको सामग्री आयात भएकोमा २ अर्ब ३६ करोड ५ लाखको सामान मात्र निर्यात हुँदा ४ अर्ब ८० करोड बढीको ब्यापार घाटा भएको छ । गत आर्थिक बर्षमा नेपालगञ्ज नाकाबाट ५१ अर्बको सामानहरु आयात भएको तथा सवा २ अर्बको मात्र निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो आर्थिक बर्ष २०७४–०७५ मा सो नाकाबाट ४१ अर्ब व्यापार घाटा भएकोमा गत आर्थिक बर्षमा त्यसमा उल्लेख्य बृद्धि भै ४९ अर्बको व्यापार घाटा हुँदा व्यापार घाटा ८ अर्ब बढेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए । उनका अनुसार हरेक बर्ष झै गत आर्थिक बर्षमा पनि यो नाकाबाट आयातमा अत्याधिक बृद्धि भएको छ भने निर्यातमा नाम मात्रको बृद्धि भएको छ । सो नाकाबाट आयातमा ८ अर्ब भन्दा बढी बृद्धि भएको र निर्यातमा १२ करोड मात्र बृद्धि भएको प्रमुख निरौलाले बताए । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा सामान आयात गर्न करिब १० हजारले प्रज्ञापन पत्र लिएका छन् । तर, नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल पाँच सयजतिले मात्र प्रज्ञापन पत्र लिएका छन् । प्रज्ञापन पत्र लिएको आधारमानै सामान आयात र निर्यातको अवस्था बुझ्न सकिने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख निरौलाले बताए ।

उनले नेपालगञ्ज नाका भएर एकदमै कम सामान भारत निर्यात हुने गरेको जनाउँदै यसका लागि निजि क्षेत्र र सरकार दुबैले ध्यान पुरयाउनु आवश्यक रहेको बताए । सरकारले आयातलाई घटाउँदै निर्यातलाई बढाउने निति लिएपनि यस नाकाबाट आयात उल्लेख्य रुपमा बढ्दै गएको र निर्यातको अवस्था स्थिर रहेकोले बर्सेनी ब्यापार घाटा बढ्दै गएको छ । भन्सार कार्यालयका अनुसार नेपालबाट जडीबुटी, वनस्पति उतपादनहरु, खोटो रोजिन, तारपिनको तेल, रिठ्ठा, अदुवा सुठो, राँगाको मासु, मसला, रद्दी कागज र नौनी बटर घ्यू भारत लगायत तेस्रो देशहरुमा निर्यात हुने गरेको छ भने पेट्रोलियम पदार्थ, चामल, सिमेन्ट क्लिंकर, आलु, प्लाष्टिकका सामान, सेरामिक्स, खरानी स्ल्याग, ठुलो परिमाणको तरकारी र फलफूल, विभिन्न खाद्यान्न तथा ट्ररेक्टर मोटरसाइकल लगायत अन्य मेसिनरी सामानहरु बढी आयात हुने गरेको छ ।

केही बर्ष पहिलेसम्म यस नाकाबाट सबैभन्दा बढी जडिबुटी निर्यात हुँदै आएकोमा गत बर्षदेखि भारतले ५४ प्रकारका जडिबुटीको भारततर्फको निर्यातमा प्रतिवन्ध लगाएपछि जडिबुटी निकासी अत्यन्तै कम मात्रामा भैरहेको जडिबुटी व्यवसायी संघले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालय वरपर भारतबाट आउने गाडीहरुको बाहै्र महिना लस्कर देखिदा नेपालबाट सामान लिएर भारततर्फ जाने गाडीहरुलाई खोज्नुपर्ने अवस्था रहेकोले नै व्यापार घाटा बढ्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार सरकारकै अव्यावहारिक निति तथा भारतसंग आफ्नो पक्ष राम्ररी राख्न नसक्दा निर्यात घट्दै गएर ब्यापार घाटा बढ्दै गएकोले यसबाट देशलाई ठुलो क्षति भैरहेको छ ।

प्रकाशित मितिः     १९ भाद्र २०७६, बिहीबार ०७:४७  |