
नेपालगञ्ज २४ भदौ – स्थापनाकालदेखि नै राजश्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले बाँकेको खजुरास्थित नेपाल पान मसला उद्योगमाथि रु ७ करोड ५२ लाख दुई हजार ७७४ बराबरको बिगो सहितको मुद्दा दर्ता गरेको छ । बिभागले लामो अनुसन्धान पछि सोमबार जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको हो । उक्त उद्योगले इको प्लस नामक गुट्खा उत्पादन गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७३र०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोग छ । अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको हो । विभागले उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७७४ रुपैयाँ बिगो कायम गरेको छ।

उद्योगसँगै कम्पनीका प्रोपाइटर कुतबुद्दिन शेषलाई पनि विभागले प्रतिवादी कायम गरेको छ।राजस्व चुहावट नियन्त्रण तथा नियमन ऐनको व्यवस्था अनुसार कसुर ठहर भएमा दोषीमाथि तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ। यस्तै, बिगोको दोब्बरसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यता उद्योगका सञ्चालक कुतबुद्धिन शेषका दाजु बब्लु शेषले कानुन सम्मत तरिकाले उद्योग सञ्चालन भएको दावी गर्दै अदालतबाट न्याय पाउने बताए ।


