नेपालगञ्ज २६ भदौ – प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसी ‘सोनाम’ले प्रदेश स्थायी राजधानी कहाँ बन्ने टुङ्गो हिउँदे अधिवेशनले लगाउने बताएका छन् । आज बिहिवार बिहान प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री सोनामले प्रदेशको राजधानीका बिषयमा आगामी अधिवेशनले टुङ्गो लगाउने बताए । उनले दिर्घकालिनरुपमा ठुला पूर्वाधार बनाउन मिल्ने ठाउँमा प्रदेशको राजधानी तोकिने स्पष्ट पारे । सोही पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सोनामले हाल छलफलमै केन्द्रीत रहेको प्रदेश बिश्वविद्यालय बाँके र बर्दियामा नबन्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे । प्रदेश बिश्वविद्यालय स्थापनाका लागि बाँके र बर्दियालाई प्राथमिकतामा राखेको बताएका छन् ।
औद्योगिक हवका रुपमा रहेको बाँके र बर्दियालाई शैक्षिक हब बनाउनका लागि प्रदेश बिश्वबिद्यालय बनाउन आवश्यक रहेको बताए । यद्यपी बिश्वबिद्यालय कहाँ बनाउने भन्ने बिषयमा छलफल भइरहेको उनले जानकारी दिए । बिश्वबिद्यालय जस्ता ठुला संरचना बनाउन जग्गाको समस्या भएको बताउँदै मन्त्री सोनामले जग्गा प्राप्त हुन सके बाँके र बर्दियामा बिश्वबिद्यालय बन्न सक्ने संकेत दिएका छन् ।
मन्त्री सोनामले कृषि र पर्यटनको विकासलाई प्रदेश सरकारले महत्वका साथ कार्ययोजना बनाएको उल्लेख गर्दै त्यसका लागि बाँके, बर्दियालाई महत्वका साथ हेरिएको बताए । लुम्बिनी घुम्न आएका पर्यटक बाँके र बर्दियासम्म आउने वातावरण बनाउने रणनीति आफुहरुले बनाएको मन्त्री सोनामले बताए । त्यसैका लागि प्रदेश सरकारले नौवस्तामा मानसरोवर पार्क बनाउन लागेको उनले जानकारी दिए ।