भविष्य बद्ल्दै गाभर–चिसापानी : औद्योगिकक्षेत्रदेखि मानसरोवर पार्कसम्मका ठुला ‘प्रोजेक्ट’ बन्दै


  • कमल डाँगी

गाभर (बाँके) ३० भदौ : नेपालगञ्जदेखि झण्डै पच्चिस किलोमिटर उत्तरमा पर्छ गाभर–चिसापानी । रत्नराजमार्गसंगै सटेको यि दुई क्षेत्रमा उद्योग र पर्यटनसंग सम्बन्धित आधा दर्जन ठुलो ‘प्रोजेक्ट’ सञ्चालनको तयारीमा छन् । प्रशस्त सम्भावना हुँदाहुँदै पनि राज्यको नजरमा पर्न नसकेको गाभर–चिसापानी नयाँ बन्ने योजनाका कारण यतिबेला उत्साहित छ । गाभर–चिसापानीमा प्रदेशकै ठुलो नौवस्ता औद्योगिकक्षेत्र, मानसरोवर पार्क, गाभर होमस्टेसंगै लायन्स पार्क जस्ता योजना बन्ने क्रममा छन् । ओद्योगिक र पर्यटकियक्षेत्रको विकासमा कायपलट पार्ने यि योजना बाहेक सरकारी तहबाट खुल्ला कारागार पनि यही निर्माण हुँदैछ । अत्याधुनिक प्रविधिबाट च्याउँ, अष्ट्रिच फार्म जस्ता कृषि उपज क्षेत्रमा लगानी थपिदैछ । स्थानीयहरु गाभर–चिसापानीको भविष्य बद्लिनेमा बिश्वस्त छन् ।

सरकारले बाँकेको नौवस्तामा स्थापना गर्न लागेको औद्योगिक क्षेत्र निर्माणको प्रक्रिया औपचारिक रुपमा अगाडी बढेको छ । सरकारले २०७२ चैत १ गते बाँकेको नौवस्तामा प्रदेश स्तरको ठुलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिकाको नौवस्तामा ३ सय ३८ विघा जग्गा अधिग्रहण गरी जग्गाधनी प्रमाणपुर्जा समेत तयार भईसकेको छ । सरकारले २०७३ जेठ २७ गते जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो। औद्योगिक क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ भने इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । आगामी पाँच वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रका लागि कुल आठ अर्ब सात करोड खर्च हुने सरकारको अनुमान छ। औद्योगिक क्षेत्र निर्माण गर्न चालु आव वर्ष २०७५र७६ मा संघीय सरकारले १० करोड र प्रदेश सरकारले पाँच करोड रूपैयाँ विनियोजन गरिसकेको छ।

उक्त क्षेत्रमा आठ कठ्ठादेखि ४० कठ्ठासम्मको प्लट छुट्याइएको छ । सोही क्षेत्रमा औद्योगिक, आवास, प्रशासन, सेवा, भन्सार, इन्धन पम्प, दुषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका प्लट छुट्याइएको छ। विस्तृत अध्ययन प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रभित्र पेन्ट्स, खाद्य, प्लास्टिक, केबल, स्टिल, साबुन, पाइप, काठ, पानी लगायतका सम्भावित उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। नौवस्ता औद्योगिक क्षेत्र पश्चिमकै ठुलो औद्योगिकक्षेत्रमा रुपमा स्थापित हुँदैछ । नेपालगञ्ज औद्योगिकक्षेत्र भन्दा ठुलो र त्यसको बिकल्पका रुपमा नौवस्ता औद्योगिक क्षेत्रलाई सरकारले हेरेको छ । उक्त औद्योगिकक्षेत्रले स्थानीयस्तरमा प्रशस्त रोजगारी सिर्जना गर्नुका साथै विकासका ढोका समेत खोल्ने सोही क्षेत्रका संविधानसभा सदस्य रहेका दलबहादुर सुनार बताउँछन् । उनी भन्छन्,–‘गाभर–चिसापानी क्षेत्र भन्नुहोस् अथवा समग्रमा बैजनाथ गाउँपालिका राम्रो सम्भावना बोकेको ठाउँका रुपमा स्थापित छ ।’ सुनारले जग्गा सम्बन्धी बिवादहरु समाधानन्मुख भएकाले नौवस्ता औद्योगिकक्षेत्रको काम अघि बढ्ने बिश्वास लिएका छन् ।

उक्त क्षेत्रमा बन्न लागेको अर्को योजना भनेको मानसरोवर पार्क हो । जसलाई प्रदेश सरकारले उच्च महत्व दिएको छ । बाँके राष्ट्रिय निकुञ्ज, गाभर होमस्टे मार्फत पर्यटन प्रर्बधनमा आफुलाई स्थापित गरिसकेको गाभर–चिसापानीक्षेत्रमा मानसरोवार पार्क बन्नु उत्साहको कुरा भएको गाभर होमस्टेका अभियानता कृष्ण चौधरी बताउँछन् । उनी भन्छन्–‘उद्योग, कलकारखाना मात्र नभई यहाँ पर्यटनको विकासमो प्रचुर सम्भावना छ । आगामी दिनमा त्यसतर्फ विकास हुन्छ ।’ गाभरमा लायन्स क्लवले भ्यू टावर सहितको पार्क बनाउँदै छ ।

राजमार्गसंग जोडिएको गाभर–चिसापानी क्षेत्रमा बिभिन्न जातजाती, धर्म सम्प्रदायको बसोबास छ । पहाडको काखमा रहेको समथर भुभागले घेरिएको यो क्षेत्रमा ढिलै भए पनि विकास आउन थालेको स्थानीयले महसुस गरेका छन् । सोही क्षेत्रमा स्थानीयबासिन्दा समेत रहनुभएका बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर बिनित बिक्रम शाह भन्छन्,–‘यो आफैमा राम्रो सम्भावना भएको ठाउँ हो । यहाँ नयाँ नयाँ प्रोजेक्टहरु सञ्चालनमा आउँनु खुसीको कुरा हो ।’ चिसापानीमा पश्चिम क्षेत्रके एक मात्र एमबिबिएस पढाई हुने मेडिकल कलेज पहिलेबाटै सञ्चालनमा छ । पश्चिमाञ्चल पोल्ट्री फर्मले अण्डा उत्पादनमा महत्वपूर्ण योगदान दिदै आएको छ । स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नजरमा परेको गाभर–चिसापानीक्षेत्रले निकट समयमा आफ्नो भविष्य बद्ल्दै छ ।

प्रकाशित मितिः     ३० भाद्र २०७६, सोमबार १२:३८  |