मेयरले गुठी सम्हालेपछि बागेश्वरी मन्दिरको आम्दानी बढ्यो, नयाँ स्रोत समेत थपिए


नेपालगञ्ज ४ असोज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले गुठी व्यवस्थापन सम्हालेपछि पश्चिमको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरको आम्दानी बढेको छ । राणा नेतृत्वको गुठीले पहिलो पटक शुक्रवार मन्दिरको आय–विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक ग¥यो । गुठी समितिले मन्दिरको ऐतिहासिक पक्ष, आय विवरण मात्र होइन पुजापाठ गर्दा मन्दिर र पुजारीले पाउने रकम समेत सार्वजनिक गरेर उदाहरणिय काम गरेको छ । नयाँ गुठी समितिले भएकै आम्दानीको व्यवस्थापन गरेको छ ।

बागेश्वरी मन्दिरको मुल महन्त समेत सहभागि पत्रकार सम्मेलनमा वितरण गरिएको प्रतिवेदन अनुसार, पछिल्लो दुई वर्षयता बागेश्वरी मन्दिरको आम्दानी बढेको देखिन्छ । आम्दानी बढाउन नयाँ स्रोतको खोजी गरिएको छ । गुठीका अनुसार, आर्थिक वर्ष २०७३/०७४ सम्म मन्दिरको नाममा बैंकमा रु १६ लाख ३८ हजार ७ सय ८६ रुपैया जम्मा थियो । तर आर्थिक वर्ष २०७५/०७६ मा बैंकमा रु २१ लाख १० हजार १ सय ६५ रुपैया जम्मा भएको छ । हाल बैंकमा मन्दिरको नाममा रु १२ लाख फिक्स डिपोजिट रहेको छ ।

दुईवर्षको अवधिमा गुठी व्यवस्थापन समितिले नेपाल विद्युती प्राधिकरणलाई तिर्नुपर्ने रु १७ लाख महसुस बुझायो । त्यस्तै हनुमान गढी मन्दिरको विद्युत महसुस समेत बुझाईएको छ । मेयर राणाको अध्यक्षतामा दुई वर्ष अघि गुठी व्यवस्थापन समिति गठन भएको थियो । यस अवधिमा मन्दिर सुधारका लागि धेरै काम गर्न खोजिएको राणाले बताए । उनले मन्दिरको नगद मात्र नभई सुन÷चाँदीको गरगहना समेत बढेका छन् । २०७४ सम्म बागेश्वरी मन्दिरमा २० केजी ३ सय ४ ग्राम चाँदी, दुई तोला सुन थियो । दुई वर्षको अवधिमा सुनको आखिया २ थान, नथुनी २ थान, तार १, तिलहरी ४ र बन्दिनीया १ थान जम्मा भएको छ । त्यस्तै चाँदीका बिभिन्न १४ थान गहना थपिएका छन् ।

आयस्रोत मजबुत बनाउन खोजिए यि स्रोत

दुईवर्षको अवधिमा गुठी समितिले मन्दिरको आयस्रोत मजबुत बनाउन नयाँ काम गरेको गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताए । उनका अनुसार, मन्दिरका नाममा रहेका जग्गाको खोजी कार्य भइरहेको छ । यो विषयमा केन्द्रीय अध्ययन समितिले अनुसन्धान समेत गरिरहेको छ । यता गुठी समितिले मन्दिरको आयस्रोत बढाउन पुजापाठ, पक्की सटर निर्माणको कामलाई प्राथमिकता दिएको छ । नयाँ बनेका सटरको भाडाबृद्धि गरिएको छ । अति कम भाडामा सटर प्रयोग हुँदै आएकोमा अब भने व्यवसायीको सहमतिमै भाडादर बृद्धि गरिएको छ । मन्दिरको आम्दानी नहुँदा विद्युत महसुल समेत तिर्न नसक्ने भएका भएका कारण मन्दिरमा सटर, बोटिङ्ग जस्ता नयाँ काम गरेर आम्दानी बढाउन खोजिएको छ ।

प्रकाशित मितिः     ४ आश्विन २०७६, शनिबार ०९:३९  |