नेपालगञ्ज ४ असोज – नेपालगञ्ज–३ का इर्शाद अहमद अञ्सारी अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न छ वर्ष अघि काठमाण्डौं गए । राजधानी छिरेपछि उनी आफ्नो काममा मात्र सिमित भएनन् । लजिजो रेष्टुरेण्ट खोले । यो एउटा यस्तो रेष्टुरेण्ट हो जहाँ नेपालगञ्जको ‘लोकल खान्की’ मानिने बिरयानी, दही बडा, कोरमा, कोप्ता पाईन्छ । राजधानीबासीलाई फरक स्वाद पस्किने इर्शादको सोंच सफल भइरहेको छ । उनले लजिजोको दुईवटा ‘आउटलेट’ बिस्तार गरिसकेका छन् ।
नेपालगञ्जको ‘लोकल खान्की’ राजधानीमा परिचित बनाउने इर्शाद चर्चित अंग्रेजी शिक्षक सिराज अहमद अञ्सारीका छोरा हुन । अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा रहेर राम्रै काम गरिरहेका इर्शादले काठमाण्डौंमा नेपालगञ्जको पहिचान झल्काउन लजिजो खोलेको बताउँछन् । उनी भन्छन्,–‘पोखरा हिमाल र फेवातालले चर्चित छ भने हामी त्यस्तै फरक पहिचान जोडेर आफ्नो शहरलाई परिचित बनाउन भनेर यो काम शुरु गरेका हौं ।’ उक्त रेष्टुरेण्टका पाकवानको स्वाद लिने नेपालगजका स्थायीबासिन्दा भई राजधानीमा बसोबास गर्नेहरु मात्र होइन रैथाने पनि पुग्ने गर्छन ।
लजिजोको शाखा शुक्रवार दरवारमार्गमा खोलिएको छ । शहरी विकास मन्त्री मो. इस्तीयाक राइले रेष्टुरेन्टको उद्घाटन गरे । उनले काठमाडौंमा देशका विभिन्न स्थानका परिकार पाइनु सकारात्मक भएको प्रतिक्रिया दिए । लजिजोको पहिलो रेष्टुरेन्ट ललितपुरस्थित नख्खुमा रहेको छ । उनले करिब एक वर्ष नख्खुमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए। ‘लजिज’ शब्द उर्दु र अरबिक शब्द हो । यसको अर्थ स्वादिष्ट भनेर बुझिन्छ । नाम अनुसार सानो तथा चिटिक्क रेष्टुरेन्टले स्वादिष्ट परिकारहरु पस्किने गरेको छ। काठमाडौंमा उपत्यकामाा मुघलको स्वाद दिने बिरयानीका लजिज उपयुक्त स्थान बनेको छ ।
सबैभन्दा रुचाइने बिरयानीका अलावा चिकेन कुर्मा, तावा मुर्ग, सामी कबाब चिकेन, लच्छा पराठा, केशरी लस्सी, कबाबका परिकार पाइने रेष्टुरेन्ट सञ्चालक अन्सारीले बताए । ‘शहरमा मोमो चाउमिनको विकल्पको रुपमा मुगलको स्वादको बिरयानीको स्वाद चखाउनको लागि रेष्टुरेन्ट खोलेको हुँ’उनले भने । सफा, स्वच्छ र गुणस्तरीय खाना खुवाउने लक्ष्य लिएर खुलेको लज्जिजो स्पाइसी खाना पारखीहरुको लागि विशेष रोजाइको ठाउँ बन्न सक्छ। हलाल गरिएको खाना पाइने हुनाले रेष्टुरेन्टमा मुस्लिमहरुको पनि चहलपहल अझ बढी हुन्छ।