लगानीकर्तामा यसरी उत्साह भर्दै छ तिलोत्तमा नगरपालिका


बुटवल -तिलोत्तमा नगरपालिकाले यही असोज ९ गते गर्न लागेको लगानी सम्मेलनका क्रममा सम्झौता हुने परियोजनाहरुका लागि विभिन्न विषयमा छुटको योजना ल्याएको छ । व्यवसायीलाई आकर्षित गर्नेगरी कर लगायतका विभिन्न विषयमा छुटको योजना ल्याएर नगरपालिकाले लगानीकर्तालाई आकर्षित गर्न खाजेको हो । नगर प्रमुख वासुदेव घिमिरेका अनुसार लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतमा लगानीकर्तालाई सहुलियत प्रदान गरिने छ ।

नगरपालिकामा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउने पनि नगर प्रमुख घिमिरेले जानकारी दिए । “यसो गर्दा लगानीकर्ता जग्गा नपाएर फर्किनुपर्ने छैन, हामीले लिजमा जग्गा उपलव्ध गराएर परियोजना अघि बढाउन अनुमति दिन्छौं”–उनले भने । परियोजनासम्म जाने र आउने बाटोको पहँुच सुविधा नगरपालिकाले गर्ने छ । सडक पूर्वाधारले परियोजनालाई जोडेसँगै परियोजना सफल रुपमा अगाडि बढ्ने पनि नगरपालिकाको विश्वास छ । त्यसैगरी नगरपालिकाले न्यूनतम ५० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको पाँच वर्ष सम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने योजना बनाएको छ । “व्यवसायीको माग र समस्या हामीले संबोधन गर्ने प्रयास गरेका छौं”–नगर प्रमुख घिमिरेले भने ।

त्यस्तै न्यूनतम ३०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्ष सम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने नगरपालिकाको योजना छ । ३०० जना भन्दा माथि ५०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्ष सम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिइनेछ । ५०० जना भन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा शतप्रतिशत छुट दिइने छ ।  यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणको लागि नगरपालिकाबाट नक्सा पास गर्दा ५० देखि ३०० जना सम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति लिएको पनि नगर प्रमुख घिमिरेले जानकारी दिए ।

कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज, आदिलाई परियोजना स्थापनाको ७ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइने उनले जानकारी दिए । पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्ष सम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।

न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शत प्रतिशत छुट र परियोजनाका लागि जग्गा खरिदमा सहजिकरण गरिनुका साथै विद्युत सेवाका लागि पनि सहजिकरण हुने नगर प्रमुख घिमिरेले बताए । नगरपालिकाले ल्याएका योजनाका कारण पनि आगामी लगानी सम्मेलनमा तय गरिएका महत्वपूर्ण २२ परियोजनामा विभिन्न पक्षसँग सम्झौता हुने पनि उनले बताए ।

https://nepalgunjbusiness.com/2019/09/11418/

प्रकाशित मितिः     ५ आश्विन २०७६, आईतवार ०७:०४  |