- कमल डाँगी
बाँके ८ असोज – बाँके र बर्दियाका स्थानीय तहले प्राकृतिक जलाशयलाई पर्यटकीयस्थल बनाउन माछाको पकेटक्षेत्र मासिएको छ । यसवर्ष यि दुवै जिल्लाको माछाको उत्पादन २५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला पशु ज्ञान कार्यालय बाँकेका बरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँले जानकारी दिए । बाँके र बर्दियालार्य माछा उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्र नभई जिल्ला बाहिर समेत खपत हुँदै आएको छ । मिसन फिस कार्यक्रम मार्फत साविकको कृषि विकास कार्यालय मार्फत माछाको उत्पादन बढाउन बिभिन्न कार्यक्रम गरिएका थिए । सरकार र कृषको मेहेनत पछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेटक्षेत्रके जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन शुरु गरेका हुन ।
बाँकेमा २५ हेक्टर रहेको प्राकृति जलाशयमा माछापालन हुँदै आएको थियो । १६ हेक्टरको पुरैनीताल र ६ हेक्टरको वाटरपार्कमा माछा उत्पादन हुँदै आएकोमा यि दुबै तालमा नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय गन्त्व्य बनाउँदैछ । प्रदेश सरकारको सहयोग समेत रहेको पुरैनी ताललाई पर्यटकीयस्थल बनाउन काम शुरु भइसकेको मेयर डा. धवल शमसेर राणाले बताएका छन् । बाँकेमा कुल ३ सय ४० हेक्टरमा वार्षिक ११ सय ९६ मेट्रिकटन माछा उत्पादन हुन्छ । प्राकृतिक जलाशयमा नयाँ काम शुरु भए पछि चालु आर्थिक वर्षमा स्थानीय तहले माछापालनको ठेक्का दिएका छैनन् । ठेकेदार मार्फत ती प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो ।
बर्दियाको अवस्था समेत बाँकेको जस्तै छ । पश्चिमकै सबैभन्दा धेरे माछापालन हुने बढैयताल प्राकृति जलाशयमा यस वर्षदेखि माछा उत्पादन बन्द गरिएको छ । बढैयाताल गाउँपालिकाले त्यहाँ पर्यटकीयस्थल निर्माणको काम शुरु गरेको छ । ८४ हेक्टरको बढैयाताल र ४० हेक्टरको सत्खोलवातालमा यसपटक माछा उत्पादन हुने बरिष्ठ मत्स्य विकास अधिकृत खाँले जानकारी दिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएपनि निकुञ्ज प्रशासनले त्यहाँ माछा मार्न रोक लगाएको छ । बर्दियामा गत वर्ष १५ सय मेट्रिक टन माछा उत्पादन भएको थियो । बढैयाताल गाउँपालिकाका सूचना अधिकारी कमल खड्काले पर्यटकीयस्थलका रुपमा बढैयाताललाई बिस्तार गर्न लागिएको जानकारी दिए । उनका अनुसार, अब ‘शो’का रुपमा मात्र गाउँपालिकाले तालमा माछाको भुरा राख्ने छ । ‘पर्यटकीयस्थलका रुपमा यो ठाउँलाई परिचित गराउँ जनप्रतिनिधि लाग्नुभएको छ ।’– खड्काले भने ।
‘पर्यटकीयस्थल बनाउँदा पनि माछापालन गर्न सकिन्छ । दुबै काम साथसाथै लैजानु राम्रो हुन्छ ।’ बरिष्ठ मत्स्य विकास अधिकृत खाँले भने–‘नत्र माछा उत्पादन बन्द नै गर्ने हो भने आत्मनिर्भर बन्ने हाम्रो योजना तुहिन्छ ।’ माछाका लागि प्राकृतिक जलाशय सबैभन्दा उत्तम भएकाले बाँके र बर्दियालाई पकेट क्षेत्र मानिएको बताउँदै खाँले भने,–‘यसको विकल्पमा खेतीयोग्य जमिन मासेर माछापालन गर्न सकिदैन ।’ खाँले चालु आर्थिक वर्षमा बाँके र बर्दियामा माछाको उत्पादनमा २५ प्रतिशसम्म कमी आउने बताए ।
तस्वीर : बढैयाताल/हाम्रो बढैयाताल