सुर्खेतमा गुण्डागर्दी र दुव्र्यसन नियन्त्रण गर्न निजीक्षेत्रको माग, ‘सुरक्षामा ढुक्क हुनुहोस्‘–एसपी पन्त


सुर्खेत ८ असोज । प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दुव्र्यसन र गुण्डागर्दी बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्ने भन्दै निजी क्षेत्रका अगुवाहरुले यथाशीघ्र नियन्त्रणको माग गरेका छन । राजनीतिक संरक्षण, प्रशासनिक पहुँच र शक्तिकेन्द्रको आडभरोसमा संस्थागत रुपमा गुण्डागर्दी र लागूपदार्थ दुव्र्यसन बढ्दै जाँदा व्यापार व्यवसायनै मारमा परेको भन्दै यस्तो माग गरिएको हो । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी उपरीक्षक डिल्लीराज पन्तको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागीले यस्तो माग गरेका हुन ।

कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले लागूपदार्थको बढ्दो प्रयोग र संस्थागत गुण्डागर्दीको प्रभावले गर्दा निजी क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै कडाइका साथ नियन्त्रण गर्न सुझाव दिनुभयो होटल व्यवसाय लगायतका रात्री व्यवसाय मात्र नभई अन्य व्यापार व्यवसाय समेत यस्ता विकृतिको चपेटमा परेको भन्दै उहाँले प्रहरीको सक्रियता र उपस्थिति दुबै बढाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो । अध्यक्ष रावतले वीरेन्द्रनगरको क्षेत्रफलसंगै बजार क्षेत्रहरुपनि विस्तार हुँदै गएको भन्दै मुख्य बजार केन्द्रहरुमा प्रहरीको विट राख्नुपर्नेमा जोड दिनुभयो । यस्तै,नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले चाडवाडमा ढुक्कसंग व्यापार व्यवसाय गर्ने मात्र नभई निर्धक्क चाडपर्व मनाउने वातावरण बनाउनुपर्ने आग्रह समेत गर्नुभयो । सबैखाले डरधम्की र चुनौतिको सामना गर्न व्यवसायिक एकता अपरिहार्य रहेको भन्दै त्यसका लागि संस्थागत रुपमा नेतृत्व र पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले समाजमा शान्ति सुरक्षा कायम राख्न निजी क्षेत्रले विगतदेखि नै सहकार्य गर्दै आइरहेको उल्लेख गदै आगामी दिनमा पनि सहकार्य र सहयोग जारी रहने प्रतिवद्धता जनाउनुभयो । यस्तै महासचिव लक्ष्मण कंडेलले विगतमा संघको अवधारणा र अगुवाइमा जडान गरिएका सीसी क्यामेराले आपराधिक गतिविधि कम भएको उल्लेख गर्दै थप सीसी क्यामेरा जडान गरी सुर्खेतलाई सुरक्षित शहर बनाउनुपर्नेमा जोड दिनुभयो । संघका कोषाध्यक्ष भद्र भण्डारीले पर्यटकीय क्षेत्रहरुमा मर्यादित एवं अवाञ्छित गतिविधि बढ्दै जाँदा जिल्लाकै बद्नाम हुने अवस्था आएको भन्दै यसबारे गम्भीरतापूर्वक लिन सुझाव दिनुभयो ।

क्यान महासंघका प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्दले जिल्लामा साइबर अपराधसम्बन्धित हेर्ने छुट्टै सेल नभएको भन्दै साइबल सेल स्थापना गर्न सुझाव दिनुभयो । संघका पूर्व उपाध्यक्ष वासुदेव शर्माले खाता सञ्चालनमा नरहेका वा खातामा रकम नै नभएका व्यक्तिले चेक दिएर झुक्याउने गरिरहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा प्रहरी उपरीक्षक पन्तले आप्mनो कार्यअवधिभर सुर्खेती नागरिकले महशुस हुने गरी शान्ति सुव्यवस्था कायम राख्ने प्रतिवद्धता जनाउनुभयो । प्रहरी, नागरिक साझेदारीको अवधारणालाई आपूmलाई उच्च प्राथमिकतामा राखेको भन्दै उहाँले शान्तिसुरक्षाको सवालमा नागरिक समाजको सहयोग अपरिहार्य हुने बताउनुभयो । नागरिक समाज सजग र सक्रिय नभएसम्म अपराधीहरुको मनोवल बढिरहने भन्दै उहाँले कुनैपनि गैरकानूनी क्रियाकलापबारे आधिकारिक सूचना दिए प्रहरी तुरुन्त एक्शनमा जाने दाबी गर्नुभयो । अहिले सानो रुप र आकारमा रहेका आपराधिक गिरोहहरु तपाइँहरुको बेवास्ताले भोलि झन मौलाउँदै र फैलिदै जानेछन । एसपी पन्तले भन्नुभयो,अहिलेदेखि नै प्रहरीसंग हातेमालो गर्नुस, तपाइँले महशुस हुने गरी शान्तिसुरक्षा दिन्छौं ।

प्रकाशित मितिः     ८ आश्विन २०७६, बुधबार १३:२५  |