तिलोत्तमा लगानी सम्मेलनको तयारी पूरा, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने


बुटवल ८ असोज – तिलोत्तमा नगरपालिकाले बिहीबार आयोजना गर्ने लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनको तयारी पूरा भएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात र रोजगारी वृद्धि गर्ने केही परियोजना सम्झौताको तयारी छ । नगरपालिकाले परियोजना भित्राउन लगानीकर्तालाई विभिन्न सहुलियत प्रदान गर्ने जनाएको छ ।

तिलोत्तमा–१३, कोटिहवा स्थित टाइगर रिसोर्टमा बिहीबार बिहान ८ बजेबाट सुरु हुने सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा संघीय तथा प्रदेश सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता, उच्च पदस्थ सरकारी अधिकारीहरु, राष्ट्र बैंकका गर्भनर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, जनप्रतिनिधिहरुलगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सहभागिता रहने छ । ‘तिलोत्तमा नगर क्षेत्रमा कृषि, उद्योग, व्यापार, पर्यटनलगायतका पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउनु नै सम्मेलनको मुख्य उद्देश्य हो ।’ नगर प्रमुख घिमिरेले भने ।

सम्मेलनबाट तिलोत्तमाका साथै समग्र रुपन्देहीले लाभ प्राप्त गर्ने आयोजकले बताएका छन् । नगरपालिकाका पर्यटकीय स्थल जोड्ने गरी रेल सञ्चालन, दुग्ध प्रशोधन केन्द्र, फोहरमैला प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र, प्रादेशिक बसपार्क, दक्ष जनशक्ति तयार पार्नका लागि प्रशिक्षण केन्द्र, क्यान्सर अस्पताल, एकीकृत पर्यटकीय योजना लगायतका आधा दर्जन परियोजनामा लगानी सम्झौता गर्ने तयारी छ ।  नगरपालिकाले तयार पारेको परियोजनाका लागि नगरपालिकाले लगानीकर्तालाई सार्वजनिक जमिन लिजमा उपलब्ध गराउन संघीय सरकारलाई सिफारिस गर्ने र व्यक्तिगत जमिन खरिद गर्न चाहेमा सहजीकरणको भूमिका निभाउने छ । नगरमा उपयोगविहीन अवस्थामा रहेको सार्वजनिक र पर्ती जमिनलाई अधिकतम उपयोगमा ल्याउन सम्मेलन आयोजना गरिएको हो  ।

लगानीका लागि कोल्ड स्टोरसहितको एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र, ढाक्रेवास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङरोडमा रेल, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट हार्टबजार, स्मार्ट पार्किङ स्थल, क्यान्सर अस्पताल, महिला तथा बाल अस्पताल, सौर्य ऊर्जा लगायतका २२ वटा परियोजना तयार पारिएका छन् । ती परियोजनामा लगानीकर्तालाई आकर्षित गर्न विभिन्न करमा छुटको व्यवस्था गरिएको प्रमुख घिमिरेले जनाए । उनका अनुसार ५० जनासम्मलाई रोजगारी दिने परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक कर छुट, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा लाग्ने रकमको ७५ प्रतिशत र ३ सय देखि ५ सयसम्मलाई रोजगारी दिनेलाई १५ वर्षसम्म ९५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ ।

नक्सापास गर्दा रोजगारी दिने संख्या हेरेर ५० प्रतिशतसम्म छुट, कृषिमा आधारित उद्योगलाई सात वर्षसम्म व्यावसायिक करमा छुट र नक्सापास दस्तुरमा ५० प्रतिशत छुट, फोहरमैला व्यवस्थापन केन्द्रलाई सात वर्षसम्म व्यावसायिक कर र नक्सापास दस्तुरमा ६० प्रतिशत छुटको सुविधा दिइएको छ । करिब साढे ५ सयको सहभागी रहने नगर प्रमुख घिमिरेले बताए ।

https://nepalgunjbusiness.com/2019/09/11765/

प्रकाशित मितिः     ८ आश्विन २०७६, बुधबार १७:४६  |