सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको लक्ष्य लगभग पूरा


नेपालगञ्ज -सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको लक्ष्य लगभग पूरा भएको छ । कुल ७५३ स्थानीय तहहरुमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकको शाखा पुग्न बाँकी स्थानीय तह अब १६ वटा मात्रै बाँकी छन् ।

प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३६ वटामा वाणिज्य बैंक पुगेका छन् । प्रदेश २ का १३६ मध्ये १३४ वटामा वाणिज्य बैंकले शाखा खोलेका छन् । प्रदेश ३ मा ११९ वटा स्थानीय तह रहेकोमा दुई वटाबाहेक सबैमा वाणिज्य बैंकले आफ्नो शाखा विस्तार गरिसकेका छन् । गण्डकी प्रदेका ८४ स्थानीय तहमध्ये एउटामा मात्रै वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । प्रदेश ५ सबै स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेको एक मात्र प्रदेश बन्न पुगेको छ भने कर्णाली प्रदेशका ७९ मध्ये ७५ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । त्यस्तै, सुदुर पश्चिम प्रदेशका सबैभन्दा धेरै ६ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छैनन् । ८८ वटा स्थानीय तह रहेको यस प्रदेशका ८२ वटा स्थानीय तहमा मात्रै हालसम्म वाणिज्य बैंकका शाखा पुग्न सकेका छन् ।

वाणिज्य बैंककै शाखा नपुगेपछि हरेक स्थानीय तहमा वित्तीय पहुँच पुगेको राष्ट्र बैंकको दाबी छ । वाणिज्य बैंकले शाखा संचालन गर्न नसकेका कतिपय दुर्गम ठाउँहरुमा विकास बैंक वा लघुवित्त वित्तीय संस्थाले शाखा संचालन गरी वित्तीय सेवा दिँदै आएका छन् । साउन मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंकगरी कुल १७१ बैंक तथा वित्तीय संस्था संचालनमा रहेका छन् । यी सबै संस्थाको कुल शाखा संख्या ८८०५ पुगेको छ । साउन महिनाभरिमा मात्रै बैंक तथा वित्तीय संस्थाका ११९ शाखा थपिएका छन् । शाखा विस्तार हुने क्रम अझै जारी रहेको छ ।

सबैभन्दा बढी शाखा संख्या लघुवित्त वित्तीय संस्थाहरुको रहेको छ भने सबैभन्दा कम वित्त कम्पनीहरुको रहेको छ । साउन मसान्तसम्मको तथ्यांकलाई हेर्दा वाणिज्य बैंकहरुको ३६४३ वटा, विकास बैंकहरुको १२८८ वटा, वित्त कम्पनीहरुको २०७ वटा र लघुवित्त वित्तीय संस्थाहरुको ३६५७ वटा शाखा संचालन रहेका छन् ।

प्रकाशित मितिः     १० आश्विन २०७६, शुक्रबार ०७:३७  |