उद्योग हाँक्नेदेखि प्रमुख, बिशिष्ट अतिथीसम्म महिला !


नेपालगञ्ज १३ असोज – पोखरामा महिला उद्यमी भेलाका जम्मै अतिथी पुरुष मात्र भएको तस्वीर सामाजिक सञ्जालमा ‘भाईरल’ बन्यो । उक्त तस्वीरले महिलालाई अपमान मात्र गरेको थिएन निजीक्षेत्रमा महिलाको सहभागिताको प्रतिबिम्ब पनि थियो । सामाजिक सोंचका कारण उद्योग, व्यवसाय क्षेत्रमा महिलाको सहभागिता नगन्य मात्रामा छ । तर पछिल्लो महिला सहभागिता उत्साजनक देखिदैछ ।

नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्यावियन एण्ड वायर ईण्डष्ट्रिज प्रालिको आईतवार उद्घाटन गरियो । ठुलो लगानीको उक्त उद्योगको उद्घाटन सत्रमा अध्यक्ष, प्रमुख अतिथी देखि बिशिष्ट अतिथीसम्म महिला थिए । उद्योगको अध्यक्ष महिला नेतृ बिमला केसी हुन । उनले अध्यक्षता भएको उद्घाटन सत्रको प्रमुख अतिथी थिईन प्रदेश सभाषद कृष्णा केसी नमुना, बिशिष्ट अतिथी थिइन नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर र नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला ।

‘देशको आर्थिक उन्नतीका लागि उद्योग, कलकारखाना स्थापना हुनु राम्रो । त्यसमा महिला सहभागिता हुन अझ राम्रो ।’ कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृष्णा केसी नमुनाले भनिन–‘कुनै मानेमा महिलाहरु अरु भन्दा कम छैनन् भन्ने प्रमाणित भएको छ ।’ नमुनाले निजीक्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले उद्योग, व्यवसायमा महिला सहभागिता बढाउन सहयोग गरिरहेको बताईन । उनले भनिन्,–‘आर्थिकरुपमा सवल नभएसम्म महिला अगाडी बढ्न सक्दैनन् । हामीले त्यसैका लागि बिभिन्न कार्यक्रम सन्चालन गरिरहेका छौं ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ सदस्य बिष्णु लामिछाने उद्योग, व्यवसायमा महिलाको सहभागिता पछिल्लो समय बढ्दै गएको बताउँछन् । उनी भन्छन्,–‘महिला स्वयं सक्रिय भएर आउनु राम्रो कुरा हो ।’

प्रकाशित मितिः     १३ आश्विन २०७६, सोमबार ०८:१४  |