ऋण लिनुपूर्व वित्तीय साक्षरता अध्ययन गर्न उद्योगी, व्यवसायीलाई सुझाव


नेपालगञ्ज १३ असोज – ऋण लिनुभन्दा पहिले उद्योगी, व्यवसायीलाई वित्तीय साक्षरताका बारेमा जानकारी लिन सुझाव दिइएको छ । सनराईज बैंकको सहकार्यमा नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागि अगुवाले यस्तो सुझाव दिएका हुन । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंक तथा वित्तीय साक्षरता जान्न उद्योगी, व्यवसायीलाई अत्यावश्यक भएको बताए । उनले भने,–‘ऋण लिने मात्र होइन त्यसका प्रक्रियाका बारेमा जान्न पनि जरुरी छ । तर हामी मध्ये धेरै यसका बारेमा जानकार छैनौ ।’ केन्द्रीय सदस्य श्रेष्ठले समयमै बैंक तथा वित्तीय साक्षरताका बारेमा थाहा नपाउँदा पछि दुःख पाउने अवस्था नआउने उल्लेख छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ऋण लिन खोज्ने र त्यसका विधि तथा प्रक्रियाका बारेमा जानकार नहुँदै समस्या उत्पन्न हुने गरेको बताए । ‘ऋण लिने नै हाम्रो प्राथमिकता जस्तो देखिन्छ । कसरी लिने ? किन लिने ? लिए पछि के गर्ने भन्ने जस्ता कुरामा ध्यान दिएको पाईदैन ।’ बैश्यले भने–‘जब समस्या हुन्छ तव हारगुहार गरिन्छ । अब त्यस्तो हुनुहुँदैन ।’ अध्यक्ष बैश्यले उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय र कर साक्षरताका बारेमा बिभिन्न अभियान चलाएको बताए । तर व्यवसायीको न्यून उपस्थिती हुने गरेको भन्दै चित्त दुखाए ।

सनराइज बैंक नेपालगञ्ज शाखाका प्रबन्ध निर्देशक अर्जुन अर्यालले सामाजिक उत्तरदायित्व बहन गर्दै आफुहरुले वित्तीय साक्षरता कार्यक्रम सन्चालन गरेको बताए । उनले वित्तीय साक्षरता हरेक नागरिकले जान्नुपर्ने विषय भएको उल्लेख गरे । सनराइज बैंकले १२ औं स्थापना दिवशको अवसरमा संघसंग वित्तीय साक्षरता कार्यक्रमका लागि सहकार्य गरेको हो । कार्यक्रममा बैंक केन्द्रीय कार्यालयबाट आएका अभिषेक श्रेष्ठले वित्तीय साक्षरताका बारेमा प्रशिक्षण दिएका थिए । संघका महासचिव अजय टण्डनले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रकाशित मितिः     १३ आश्विन २०७६, सोमबार १७:०४  |