नेपालगञ्ज, असोज १२ गते । नेपालगञ्जमा अत्याधुनिक बसपार्क शनिबारदेखि संचालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्कको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिबार उद्घाटन गर्नुभयो । बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाले राम्रो गरेको बताउनुभयो । उहाँले नेपालगञ्ज सम्भावना बोकेको क्षेत्र भएको भन्दै केही कार्यालय अन्यत्र स्थानान्तरण हुँदैमा नेपालगञ्ज कमजोर नहुने बताउनुभयो ।
नेपालगञ्ज विमानस्थल स्तरउन्नतीको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । कोहलपुर–बुटल चारलेन सडकको प्रक्रिया सुरु भएको, कोहलपुर–सुर्खेत चारलेनको प्रक्रिया सुरु भएको भन्दै उहाँले पछिल्ला बर्षमा नेपालगञ्जमा धेरै काम भएको बताउनुभयो । दुईबर्षभित्र पूर्व पश्चिम रेलमार्गको काम द्रुतगतीमा हुने उहाँको भनाई छ । उहाँले सय विघा जग्गा उपलब्ध भएमा विश्वविद्यालय यहि बन्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जको विकासका लागि महानगरपालिका आवश्यक रहेको भन्दै पार्टीगत राजनीतिबाट माथि उठ्नुपर्नेमा जोड दिनुभयो । बसपार्क एक महिनापछि निजी क्षेत्रलाई संचालनको जिम्मा दिने भन्दै उहाँले सरसफाईमा विशेष ध्यान दिइने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरका अनुसार,४ विघा १० कठ्ठा जग्गामा १६ करोड १६ लाखमा आधुनिक बसपार्क निर्माण सम्पन्न भएको छ । बसपार्कमा १२३ वटा ठुला र ५६ वटा साना बस राख्न सकिने क्षमता रहेको छ । कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, अजुरा गाउँपालिकाका कार्यबाहक अध्यक्ष एकमाया विक, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतम, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले शुभकामना ब्यक्त गर्नुभयो । नपालगञ्ज उपमहानगरपालिकाका सातवाट बसहरु शनिबारदेखि औपचारिकरुपमा संचालनमा आएका छन् । बस सेवाको मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्नुभयो ।