नेपालगञ्ज – ‘सस्तो पाइने’ लोभमा सामान्यदेखि भिआईपीसम्मका नेपाली किनमेल गर्न सिमावर्ती बजार रुपैडिया जान्छन् । त्यहाँको बजार नेपाली मात्रैले चलेको छ । स्वदेशी बजार सुक्ने गरी त्यसरी सिमावर्ती बजारमा हुने किनमेललाई नियमन गर्नुपर्ने आवाज उठेका बेला रुपैडियाका व्यापारीले नेपालीलाई लक्षित गरी धमाधम सपिङ्ग कम्पलेक्स र मिनी मार्केट सञ्चालनमा ल्याइरहेका छन् ।
अत्यन्त भिडभाडयुक्त रुपैडियामा अहिलेसम्म कोचाकोच भएर पनि नेपाली सेवाग्राहीले सामान किन्दै आएका थिए । त्यसमा झन् सुविधा सम्पन्न सपिङ्ग कम्पलेक्स र मिनी मार्केटमा ओइरो लाग्ने देखिन्छ । यसले नेपालगञ्जको बजारलाई चुनौती थप्दैछ । रुपैडियामा आधा दर्जन ठुला सपिङ्ग कम्पलेक्स र मिनी मार्केट खुलेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले स्वदेशमै सामान किन्न आग्रह गर्दै सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । तर त्यसको कुनै प्रभाव परेको छैन । खुल्ला सिमाको फाईदा उठाउँदै दैनिक लाखौको किनमेल गर्न नेपालीहरु रुपैडिया पुग्छन् । यता नेपालगञ्जको बजार भने खासै फस्टाउँन सकेको छैन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रुपैडियाको किनमेल नियमन गर्नुपर्ने बताउँछन् । नेपालगञ्ज भाटभटेनी जस्ता ठुला सपिङ्ग कम्पलेक्स खुल्दैछन् । रुपैडियाको बजारले यस्ता कम्पलेक्स र सिङ्गो नेपालगञ्जको बजारलाई प्रभावित हुने निश्चित छ ।