काठमाण्डौ -कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीको ‘सुर्खेत–हिल्सा द्रुतमार्ग’लाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोलीले आज संघीय सरकारका मन्त्रीहरुलाई भेटेर ‘सुर्खेत–हिल्सा द्रुतमार्ग’लाई पहिलो प्राथमिकता राख्न आग्रह गरेको हो ।
मुख्यमन्त्री शाही र आर्थिक मामिला मन्त्री ज्वाला नेतृत्वको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ र वनमन्त्री शक्ति बस्नेतलाई भेटेर यस्तो आग्रह गरेको हो । भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले कोशी, गण्डकी र कर्णाली करीडोरलाई समेट्ने गरि कर्णालीको एजेण्डालाई समझदारीपत्रमा समावेश गर्ने बताए ।
उनले सन्तुलीत विकासको दृष्टिकोणबाट पनि कर्णालीको एजेण्डा समेट्नुको विकल्प नरहेको स्पष्ट पारे । उर्जामन्त्री पुनले आफ्नो तर्फवाट हुने सहयोगको आश्वासन दिए । त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री महासेठले पनि आफ्नो मन्त्रालयबाट हुने सहयोग कर्णालीका लागी उच्च रहने प्रतिबद्धता व्यक्त गरे । टोलीमा संघीय प्रतिनिधिसभाका सांसद छक्क बहादुर लामा, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.पुन्यप्रसाद रेग्मी, डा. दिपेन्द्र रोकाया, योगेन्द्र शाही लगायत सहभागी थिए । #यार्सान्युजडटकमबाट#