नेपालगञ्ज २५ असोज – नेपालगञ्जको सबै भन्दा पुरानो स्टार होटल स्नेहा यतिबेला क्यासिनो बिवादको उल्झनमा परेको छ । ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)लाई स्नेहाले भित्रा्एको थियो । यो नेपालगञ्जकै पहिलो क्यासिनो पनि हो । सन्चालनको छ वर्षपछि यतिबेला होटल र क्यासिनोबीचको बिवाद छताछुल्ल भएको छ । क्यासिनोले सरकारलाई बुझाउनुपर्ने बक्यौता लामो समय बित्दा समेत नदिएका कारण आफ्नो होटल अपग्रेड हुन रोकिएको अध्यक्ष असित शमसेर राणाको आरोप छ ।
‘थ्री स्टारबाट फोर स्टारमा अपग्रेड हुन खोजेको हो । तर यता पर्यटन मन्त्रालयले क्यासिनोको बक्यौताको कुरा उठाइरहन्छ ।’ असितले भने–‘क्यासिनोका कारण हामीले क्षती व्यहोर्नुपरेको छ । यही कुरा क्यासिनोलाई पटक–पटक भन्यौ तर अह ! पटक्कै सुनुवाई भएन ।’ अध्यक्ष राणाले आफुहरु क्यासिनोबाट हैरान भएपछि तालाबन्दी गर्नेसम्मको निष्कर्षमा पुगेको बताए । उनले भने,–‘लिखित र मौखिक जानकारी गराउँदासम्म पनि कुनै चासो नदिएपछि मैले नयाँ बिकल्प त खोज्नुपर्यो नी ? ’
राणाका अनुसार, करारमा उल्लेख भए अनुसार होटल स्नेह प्रालिले २०७४ साउन २७ मै ६ महिना अगाडि जानकारी गराईसके पनि सो ह्याप्पी आवर प्रालिले भाडामा लिएको हल घर खाली नगरेपछि पटक पटक लिखित, मौखिक जानकारी दिदा पनि वास्ता नगरेपछि २०७६ साउन १९ गते फेरी ३५ दिने सूचना समेत दिएको छ । यसैगरी सो विज्ञप्तीमा होटल स्नेहको तर्फबाट ह्याप्पी आवर प्रालिका विरुद्ध हल घर खाली गर्न र सम्झौता पालन गर्नको लागि २०७६ भदौ १२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बिभाग (होटल तथा पर्वतारोहण शाखा) ले ह्याप्पी आवर प्रालिलाई सम्झौताको पालनाका साथै बक्यौता रकमको भुक्तानी गर्न भनी च.नं ५२० को पत्राचार गराउदा ह्याप्पी आवर प्रालिले सरकारलाई बुझाउनु पर्ने बाँकी बक्यौता रकम रु १८ करोड ५५ लाख ९३ हजार ७५० सात दिन भित्र जम्मा गर्न भनी जानकारी दिईएको उल्लेख छ ।
‘सरकारलाई बुझाउनु पर्ने रकम हालसम्म पनि नबुझाएका कारण होटल स्नेह प्रालिको स्तरोन्नती हुन नसक्ने जानकारी प्राप्त भई आए पश्चात ह्याप्पी आवर प्रालिका सञ्चालकलाई सो कुराको लिखित मौखिक रुपमा पटक पटक जानकारी गराउदा पनि बेवास्ता गरी आएकाले होटल स्नेह प्रालीको स्तरोन्नती हुन बाधा पुगी करोडौको क्षती पुग्न गएको अवस्था आएको छ’– होटल स्नेह प्रालिको बिज्ञप्तीमा उल्लेख छ ।
यसरी सम्झौता अनुसार ह्याप्पी आवर प्रालिलाई भाडामा दिएको हल घर खाली गर्न अग्रिम जानकारी गराउदा समेत अटेर गरी हल घर खाली नगरेकाले बाध्य भई उल्लेखित क्षतिपूर्तिका लागी हल घर खाली नगरेमा बन्द गर्नुपर्ने एक मात्र बिकल्प रहेको बिज्ञप्तीमा जानईएको छ । होटल स्नेह प्रालीले सम्बन्धित सरोकारवालालाई सात दिन भित्र भाडामा लिएको हल घर खाली नगरेमा ताला लगाई बन्द गरिने बिज्ञप्ती मार्फत जनाएको छ ।
‘जर्बजस्ती गरे अदालत जान्छौ’– सुरेन्द्र सिंह, प्रबन्ध निर्देशक ह्यापी आवर प्रालि
तर यता हयाप्पी आवर प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिंहले होटल पक्षले जर्वजस्ती गरे कानूनी प्रक्रियाका लागि अदालत जाने चेतावनी दिएका छन् । नेपालगञ्ज बिजनेशसंगको टेलिफोन कुराकानीमा सिंहले भने,–‘हामीसंग एकवर्षे करार सम्झौता बाँकी छ । छलफल बिनानै जर्वजस्ती गरिए न्यायका लागि अदालत जान्छौ ।’ सिंहले नयाँ क्यासिनो सन्चालन गर्न आफुहरुलाई बिस्थापित गर्न खोजिएको बताउँदै भने,–‘डेढ सय बढि कर्मचारी छन् उनीहरुको व्यवस्थापन र हाम्रो यत्रो लगानीको हेक्का नराखी जर्बजस्ती गर्न खोजिदै छ । यो मान्य हुँदैन ।’ सिंहले बसेर छलफल गर्न तयार भएको बताउँदै उनले भने,–‘तर एकाएक यस्ता विषय सार्वजनिक गरियो । फेरी पनि बसेर छलफल गर्न सकिन्छ ।’ सिंहले सरकारलाई तिर्न बाँकी बक्यौताको बिषय अदालतमा प्रवेश गरेकाले त्यहाँबाट हुने अन्तिम निर्णयका आधारमा अगाडी बढ्ने बताए ।
स्रोतका अनुसार, होटल स्नेहाले तीन तारेबाट चार तारेमा अपग्रेड हुन खोजिरहेको छ । तर त्यसका लागि हाल रहेको क्यासिनो बाधक बन्यो । नयाँ मापदण्ड अनुसार चारतारे होटलले मात्र क्यासिनो सन्चालन गर्न पाउँछन् । स्नेहाले अपग्रेडसंगै नयाँ क्यासिनो सन्चालन गर्न दिएर आफुलाई बिस्थापित गर्ने होकी भन्ने चिन्ता ह्यापी आवरलाई छ । अन्यथा छ वर्षसम्म नउठेको सरकारी बक्यौताको मुद्दा त्यसै उठ्ने थिएन ,