नयाँ पर्यटन ‘रुट’ : भेरीगंगा–गुर्भाकोटदेखि कुपिन्डेताल


हर्रे डाडाको चिसो छिचोल्दै, भेरी नदी किनारको मनमोहक दृश्य हेर्नुको आनन्द अन्त कहाँ ! त्यसपछि पुगिन्छ धार्मिक, प्राकृतिक महत्व बोकेको कुपिन्डे ताल । जहाँ संयौ भक्तजन वर्षेनी पुजाआजा र ताल अवलोकनका लागि जान्छन् । नेपालगञ्जबाट एकदिनमै घुमेर फर्किन सक्ने सबैभन्दा छोटो र कम खर्चिलो पर्यटन गन्तव्य बन्ने दौडमा छ यो । तर त्यसका लागि स्थानीय जनप्रतिनिधिबीच समन्वयको खाँचो भने छ ।

सुर्खेत २६ असोज : धार्मिक तथा प्राकृतिक महत्व बोकेको ठाउँ घुम्ने । त्यो पनि एक दिनमै ! नेपालगञ्ज हुँदै भेरीगंगा–गुर्भाकोटदेखि कुपिन्डेतालक्षेत्रलाई नयाँ पर्यटन गन्तव्यका रुपमा विकास गर्न सक्ने हो भने त्यो सम्भवत देखिन्छ । अहिले पनि कयौं मानिसहरु यो रुट हुँदै धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलको घुमघाम गरिरहेका छन् । तर व्यवस्थित पर्यटकीयरुपटका रुपमा स्थापित हुन भने सकेको छैन् ।

यो रुटमा अहिले अधिकांस ठाउँमा पिच बाटो छ । पिच नभएको ठाउँमा ग्राभेल बाटो पुगेको छ । यातायातको सञ्जाल जोडेकाले पर्यटकलाई आवातजावतमा कुनै कठिनाई हुने छैन् । प्रदेश सांसद ठम्मर बिष्ट गुर्भाकोट र भेरीगंगालाई पर्यटकीय हब बनाउने प्रसस्त सम्भावना भएको बताउँछन् । उनी भन्छन्,–‘प्रचार, प्रसार गरी देश दुनियामा यो क्षेत्रलाई चिनाउने गरी योजनाहरु बनाइरहेका छौं ।’ स्थानीय तहले यातायात, बिजुली, खानेपानी जस्ता विकासका पूर्वाधार तयार गरिरहेको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन बताउँछन् । उनी भन्छन्,–‘यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन कसरी सकिन्छ भनेर लागिपरेका छौं । हामीले केही नयाँ काम पनि गरिरहेका छौं ।’

गुर्भाकोट नगरपालिकाले मात्र प्याराग्लाईडिङ्ग, भेरी नदीमा र्याफटीगं, ट्याकिङ्क रुट तयार गर्दै छ । यसको सम्भाव्यता अध्ययन भइरहेको मेयर पुनले बताए । अन्य स्थानीय तहले पनि आफ्नो क्षेत्रको पर्यटकीय विकासमा काम गरिरहेका छन् । प्रदेश तथा केन्द्र सरकारको ध्यानार्कषण भएको छ । यहाँ देउतीबज्यै गंगामाला मन्दिर, चमेरे गुफा रहेको छ । त्यस्तै गुर्भाकोटमा गुर्भाकोट , खटाङ्क क्षेत्र, दह ताल, गुफा रहेका छन् ।

भेरी डाईभर्सनको मुहानमा बन्ने ठुलो जलाशयले पर्यटक तान्ने निश्चित छ । त्यसक्षेत्रमा हुने पर्यटकीय विकासले बाँकेलाई प्रत्यक्ष पार्ने बताउँछन्, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपाने । यही रुट हुँदै कुपिन्डे तालको दर्शन गरी फर्किएका न्यौपानले भने,–‘ निकै शुन्दर ठाउँ रहेछ । यसले धार्मिक तथा प्राकृतिक सौन्र्दयतामा रमाउन चाहानेलाई तान्ने निश्चित छ ।’ कुनै बेलाको सामान्य गाउँ गाभरलाई होमस्टेकारुपमा देशभर चिनाउन सकेका कृष्ण चौधरीले भेरीगंगा–गुर्भाकोट क्षेत्रलाई नजिकबाट नियालेका छन् । उनी भन्छन्,–‘बाँकेसंग जोडेर त्यहाँको पर्यटकीय विकास गर्न सक्नुपर्छ ।’ बाँके, बर्दिया लगायत भारतसम्मका पर्यटक तान्ने गरी योजना बनाउन सक्नुपर्ने उनको सुझाव छ । चौधरी भन्छन्,–‘तर त्यसका लागि अन्तरपालिकाका जनप्रतिनिधिबीच कम्तिमा पर्यटनका क्षेत्रमा समन्वय र सहकार्य हुनुपर्छ ।’

प्रकाशित मितिः     २६ आश्विन २०७६, आईतवार ०८:४२  |