गुर्भाकोट ( सुर्खेत)२६ असोज – गुर्भाकोट–४ झालपरमा ‘क्याम्प फायर’ हुन थालेको छ । पर्यटनका क्षेत्रमा फड्को मार्दै गएको गुर्भाकोटको उक्त लेकमा क्याम्प फायरका लागि युवाहरु जाने गरेका छन् । दशैंको अवसरमा बिदा मनाउन घर आएकाहरुले पहिलो पटक उक्त ठाउँमा रात बिताए । क्याम्प फायरका लागि झारेपर अत्यन्त उपयुक्त भएको त्यहाँ पुगेका प्रमुल पुन मगरले बताए । उनले भने,–‘क्याम्प फायर यताको लागि नयाँ कुरा हो । तर निकै आनन्ददायीक ठाउँ रहेछ । पर्यटनका लागि अति नै उपयुक्त लाग्यो ।’ मेहलकुनाबाट आठ जना युवा पिमअप भ्यानमा त्यहाँ पुगेका थिए ।
झारेपर गुर्भाकोटको मुकाम मेहलकुना–बोटेचौरदेखि उचाईमा पर्छ । बोटेचौरसम्म मोटरसाईकलमा जान पिच बाटो छ । त्यहाँबाट माथि उकालो चढ्न भने कच्ची बाटो प्रयोग गर्नुपर्छ । भर्खरै बाटो बन्दै गरेका कारण मोटरसाईकलमा जान जोखमयुक्त नै मानिन्छ । केही वर्षभित्रै उक्त बाटो पिच हुन सके आवातजावत सहज हुन्छ । यद्यपी पहिलो पटक बाटो पुगेपछि त्यहाँका नागरिकको दैनिकी सहज मात्र बनेको छैन पर्यटकीय दृश्यावलोकनका लागि सर्बसाधारण जान थालेका छन् । बोटेचौर भन्दा माथि पिकअप भ्यान प्रयोग गर्न सकिन्छ ।
क्याम्प फायर गरेर फर्किएका प्रमुलका अनुसार, लेकमा पुगेपछि अत्यन्त मनमोहक दृश्य देख्न पाईन्छ । गोछेफाँट र वरीपरीका पहाडमा दृश्य हेर्न सकिन्छ । ‘माथि साँझ चसो हावा चल्छ । राती भने न्यानो लाग्यो । हामी टेन्टमा बसेका थियौं ।’– प्रमुलले भने,–‘लोकल कुखुरा लगायत अन्य परिकार आफै लिएर गएका थियौं ।’ गाउँदेखि टाडा रहेका कारण क्याम्प फायर गर्दा स्थानीयलाई कुनै समस्या पनि हुँदैन । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताएका छन् । वडा नं. ४ का अध्यक्ष प्रशन्न शाहले यातायातको सुगमतासगै पर्यटकको आर्कषण बढ्ने उल्लेख गरे ।
https://nepalgunjbusiness.com/2019/10/12240/