नेपालगञ्ज ३० असोज – बिहिवार बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतको भेरी गंगा नगरपालिका वडा नं. १२ को छिन्चुमा बन्ने बसपार्कका लागि राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको उक्त निर्णयसंगै आधुनिक बसपार्क निर्माणको ढोका खुलेको भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले जानकारी दिए ।
कर्णाली र भेरी करिडोरलाई यातायात सन्जालसंग जोड्ने छिन्चु बजारमा आधुनिक बसपार्क निर्माण गर्ने नगरपालिकाका योजना रहेको छ । आर्थिक वर्ष २०७५÷०७५ को नगरसभाले यस सम्बन्धी निर्णय गरिसकेको भए पनि बसपार्क निर्माण गर्ने ठाउँसंग वनक्षेत्र पनि जोडिएकाले काम अगाडी बढ्न नसकेको खड्काले बताए । उनले भने,–‘वनक्षेत्रको जग्गाको विषयले काम अल्झिएको थियो । अब काम अगाडी बढ्छ ।’
राष्ट्रिय वन प्रयोग गरेवापत सोही क्षेत्रफलको अन्य जग्गाको खोजी गरेर नगरपालिकाले बृक्षारोपण गर्ने योजना बनाएको छ । त्यसो गर्दा हालको वनक्षेत्र कटानको भरपाई हुने छ । वनक्षेत्रको विवाद समाधान भएपछि नगरपालिकाले बसपार्कको पूर्वाधार निर्माणको काम अगाडी बढाउने छ । छिन्चुमा अहिले सडकमै बस पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको छ ।