फौजी किरा प्रकोप पीडितलाई आश्वासन आयो, क्षतीपुर्ती आएन


बाँके ५ कात्र्तिक – फौजी किराको प्रकोपको कारण बाँके र बर्दियाको १९ हजार हेक्टरको धानवाली प्रभावित भएपछि कृषक निरास छन् । काटेर घर भित्रा्उने बेलाकिराले सखाप पारेपछि निरास बनेका कृषकलाई सान्त्वना दिन जनप्रतिनिधिदेखि कर्मचारी खेतमै पुगे । किराले खाएको धानको विवरण लिएर आश्वासन सहित फर्किए । तर अहिलेसम्म क्षतीपुर्ती दिने विषयमा कुनै तहका सरकारले चासो दिएका छैनन् । फौजी किराको प्रकोपले कृषको धानवाली मात्र नष्ट भएके छैन् राष्ट्रिय उत्पादन समेत प्रभावित बन्ने बिज्ञहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख एवं बाली संरक्षण अधिकृत शकिल अहमदका अनुसार, बाँकेको कुल धान खेति मध्ये आधामा फौजी किराको प्रकोप छ । कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेति भएकोमा १७ हजार हेक्टर क्षेत्रफलको धानबालीमा फौजी किराको प्रकोप देखियो । त्यस्तै बर्दियामा कुल ५२ हजार ५२ हेक्टर जमिनमा धान खेति हुँदै आएकोमा दुई हजार हेक्टरमा मात्र फौजी किराका प्रभावित भयो । ‘जमिनमा रहिरहने यस्तो किराले जमिन बाहिर आउने उपयुक्त समय खोजेको हुन्छ । अहिले मौसम अनुकुल भएकाले फैलियो । पानी पर्ने बित्तिकै हराउँछ ।’– अहमदले भने ।

किराले १७ हजार हेक्टरको धान सखाप पारेपछि बाँकेमा यस वर्ष धान उत्पादनमा ह्रास आउने भएको छ । बाँकेमा बार्षिक सरदर एक लाख नौँ हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने गरेको छ । फौजी किराका कारण बाँकेमा यस वर्ष २५–३० प्रतिशत धान उत्पादनमा ह्रास आउने बाली संरक्षण अधिकृत शकिलले अनुमान लगाए । रोग नियन्त्रण गर्न ज्ञान केन्द्रलाई ज्ञापन बाँके र बर्दियामा फौजी किराको प्रकोप देखिएपछि नागरिक समाजले रोकथाम तथा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । धान बाली किसानको मूख्य आय श्रोत भएको भन्दै नागरिक समााजले रोकथाम र नियन्त्रणका लागि ठोस कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले क्षतीपुर्तीका विषयमा प्रदेश र केन्द्र सरकारबाट जानकारी नआएको बताए । उनले भने,–‘प्रारम्भीक चरणमा विषादी छर्किने र क्षती संकलन गर्ने काम भएको छ । पक्कै केही न केही निर्देशन आउँछ ।’ फौजी किरा प्रकोपका विषयलाई लिएर कृषि मन्त्री चक्रपाणी खनाललााई बाँके क्षेत्र नं. १ का प्रतिनिधि सांसद महेश्वर गहतराज अथकले भेटेका छन् । ‘मन्त्री ज्यूले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ । क्षती विवरण संकलन पछि ठोस कदम चाल्नुहुन्छ होला ।’– अथकले भने । प्रदेश सांसद कृष्णा केसी नमुनाले फौजी किरा प्रकोपको बारेमा प्रदेश सरकारको ध्यानार्कषण गराएकी छन् ।

प्रकाशित मितिः     ५ कार्तिक २०७६, मंगलवार ०८:४४  |