बाँके ७ कात्र्तिक – प्रदेश नं. ५ को उद्योग वन तथा वातावरण मन्त्रालयले सरोकारवालासंग होमस्टे संचालन सम्बन्धी नियमावलीको मस्यौदा माथी छलफल शुरु गरेको छ । मन्त्रालयले बिहिवार बाँकेको गाभर होमस्टेमा प्रदेशभरका होमस्टे सन्चालकसंग मस्यौदा माथी छलफल गरेको हो ।
होमस्टे संचालकहरुले दर्ता, नविकरण, नियमनको जिम्मेवारी स्थानीय तहलाई दिने गरी नियमावली बनाउन सुझाव दिएका छन् । संघीय सरकारले बनाएको होमस्टे कार्यविधि भए पनि देश संघीय प्रणालीमा गइसक्दा समेत यहाँ नियमवाली बनेको थिएन । तर अब त्यसका लागि नियमावली बनाउन शुरु गरेपछि राहात महसुस भएको होमस्टे एशोसिएशनका प्रदेश सचिव कृष्णलाल चौधरीले बताए ।
‘होमस्टे सन्चालनको लहर चलेपनि यसलाई व्यवस्थित गर्न नियम, कानुन नहुँदा समस्या भएको थियो ।’ चौधरीले भने–‘अब त्यसको समाधान हुने भयो ।’ सुझाव संकलन कार्यक्रममा होमस्टे एशोसियशनका पूर्व केन्द्रीय अध्यक्ष भिम केसीले होमस्टे नेपालको माटो सुहाउँदा भएकाले ग्रामिण पर्यटनको प्रर्बधन गरिरहेको बताउँदै सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले गाउँको बिपन्न समुदायमा आर्थिक समृद्धिका लागि होमस्टे अत्यावश्यक भइसकेको बताए । सुझाव संकलन कार्यक्रममा मन्त्रालयका अधिकृत गणेश घिमिरे, आलोककुमार ओझा लगायतको सहभागिता रहेको थियो । होमस्टे एशोसिएशन प्रदेश ५ का सचिव चौधरीका अनुसार, प्रदेशभर झण्डै दुई दर्जन होमस्टे रहेका छन् ।