खजुरामा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने उद्योग खुल्दै, रु ९६ करोड लगानी


नेपालगञ्ज १४ कात्र्तिक – बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । आर्थिक वर्ष २०७५/७६ मा पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका लागि अनुमति पाएको उद्योग बिभागले जानकारी दिएको छ ।

बिभागका अनुसार, उक्त उद्योगमा चुक्ता पुँजी रु ९६ करोड कायम छ । १० मेगावट सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने लक्ष्य लिएको उक्त कम्पनीले १० जनालाई रोजगार दिने छ । ठुलो लगानी सहितको ठुलो सोलार इलेक्ट्रिसिटी उत्पादन गर्ने उद्योग खजुरामा पहिलो पटक स्थापना हुँदैछ ।

खजुरा गाउँपालिका वडा नं. ८ का अध्यक्ष फिरोज खानले सोलार उद्योग स्थापनाका लागि कम्पनीले जग्गा किनेको बताए । ‘सोलार उद्योग खोल्न कम्पनीले केही जग्गा किनिसकेको र केही किन्ने प्रक्रियामा रहेको सुनेको छु ।’ अध्यक्ष खानले भने–‘उद्योगका तर्फबाट हामीसंग अहिले प्रत्यक्षरुपमा खासै कुराकानी भएको छैन । भौतिक पूर्वाधार तयार गर्ने बेला उहाँहरु आउनुहुन्छ होला ।’ अध्यक्ष खानले रनियारपुरमा ठुलो उद्योग खुल्दा स्थानीयलाई फाईदा हुने बताए ।

खजुरा गाउँपालिका हरित गाउँपालिकाका रुपमा स्थापित हुँदैछ । चाइनाको एक दातृनिकायसंग यस सम्बन्धमा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले लिखितरुपमा सम्झौता समेत गरिसकेका छन् ।

प्रकाशित मितिः     १४ कार्तिक २०७६, बिहीबार ११:२१  |