प्रदेश ५ को पर्यटन पूर्वाधारमा रु ७५ करोड खर्च गरिदै, बाँकेमा ४ करोड ४४ लाख


  • लक्ष्मण पौडेल

तिलोत्तमा, २१ कात्तिक : प्रदेश पाँच सरकारले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष पूर्वाधार निर्माणमा बाँके जिल्लाका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माणकका लागि ४ करोड ४४ लाख रकम छुट्टयाएर प्रारम्भिक चरणका काम अघि बढाइएको छ । मन्त्रालयले तय गरेका सबै क्षेत्रहरुमा चालु वर्ष नै पूर्वाधार निर्माणको काम सुरु गरिने र बजेट अपुग भए आगामी वर्षसमेत पूर्वाधार निर्माणका काम सम्पन्न गर्ने गरी अघि बढिने छ ।

प्रदेशभर झण्डै ७५ करोड खर्चिदै छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जिल्लागत रुपमा पूर्वाधार निर्माणका लागि खर्चिने बजेटको सुची तयार पारेको छ । पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा बढी रकम दाङमा खर्च गरिंदै छ । दाङमा १२ करोड ५५ लाख खर्चिने गरी पूर्वाधार निर्माणको तयारी थालिएको हो । जसअन्तर्गत म६िटपरपोज बोटानिकल गार्डेन निर्माण घोराहीका लागि एक करोड रुपियाँ खर्च गरिने छ । त्यस्तै बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माणका लागि डेढ करोड बजेट छुट्टयाएर मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ । त्यस्तै डेढ करोडको लागतमा दाङको घोरदौरामा सांस्कृतिक डवली निर्माण र दुई करोड रुपियाँको लागतमा दंगीशरण कल्चरल पार्क निर्माण गरिने छ ।

मन्त्रालयको पर्यटन विकास शाखा प्रमुख आलोक ओझाका अनुसार पूर्वाधार निर्माणको काम प्रदेशका १२ वटै जिल्लामा सुरु भइसकेको जानकारी दिए । “जिल्लागत रुपमै पूर्वाधार निर्माणको सुची तयार गरी आवश्यक काम अगाडि बढाएका छौं, मन्त्रालयले तय गरेका पूर्वाधार निर्माणका सबै योजना चालु वर्ष कार्यान्वयनमा आउँछन्”–उनले भने । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार तयार गर्न भन्दै रुपन्देहीमा ९ करोड ७५ लाख बराबरको काम गरिंदै छ । मन्त्रालयले सिद्धार्थनगर–३ मा रहेको डण्डाखोला हरितपार्क निर्माणका लागि डेढ करोड बजेट खर्चदै छ भने डेढ करोडको लागतमै गजेडी दानापुर पर्यटकीय पूर्वाधार निर्माण गर्दै छ । दुवै स्थानमा छिट्टै नै काम सुरु हुने ओझाले जानकारी दिए । त्यस्तै बुटवलमा वनस्पति उद्यान निर्माण, देवदहमा बुद्धमाया शान्ति उद्यान, मर्चवारीमाई पर्यटकीय क्षेत्र सौन्दर्यीकरण तथा पूर्वाधार विकास, बोलबम धाम हिलपार्क पहुँच पर्यटकीय पदमार्ग निर्माण सैनामैना र रामापिथेकश जुलोजिकल पार्क निर्माणका लागि कुल दुई करोड बजेट छुट्टयाएर प्रारम्भिक काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

चर्चामा आएका सम्पदाहरुको मात्रै होइन ऐतिहासिक र महत्वपुर्ण तर ओझेलमा परेका सम्पदाहरुको पनि प्रचारप्रसार र संरक्षण गर्नेतर्फ मन्त्रालय लागिपरेको पर्यटन विकाश शाखा प्रमुख ओझाले बताए ।  पाल्पामा पनि ८ करोड २५ लाख खर्चिने गरी पर्यटकीय क्षेत्रहरुको पूर्वाधार निर्माणको तयारी थालिएको छ । यो बजेटबाट श्रीनगरमा उद्यानपार्क, राम्चेमा पर्यटकीय पूर्वाधार, नुवाकोट गढीमा सांस्कृतिक डवली पूर्वाधार, बल्ढेङगढीदेखि नुवाकोट गढीसम्म पर्यटकीय पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिंदै छ ।

मन्त्रालयले गुल्मीमा पर्यटकीय पूर्वाधार निर्माणका लागि भन्दै ४ करोड ३९ लाख बजेट यही वर्ष खर्च गर्दै छ । जुन बजेटमा रेसुङ्गामा पर्यटकीय पूर्वाधार, धुर्कोटको विचित्र गुफा, बम्घाकोटलगायतका स्थानमा पूर्वाधार बन्दै छन् भने मदाने मा मालिका पर्यटकीय पूर्वाधार निर्माण तथा पदमार्ग निर्माण गरिने छ । त्यसैगरी अर्घाखाँचीमा पनि ४ करोड २५ लाख बजेटमा विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण हुने भएका छन् । बर्दियामा एक करोडको लागतमा थारु संग्रहालय बन्दै छ । नवलपरासीमा डेढ करोड बजेटमा पूर्वाधारको काम अघि बढाइएको छ । सबै जिल्लामा पूर्वाधार निर्माणको काम अघि बढेकाले निर्माण सकिएपछि ती स्थानहरुमा पर्यटकहरुको आकर्षण बढ्ने मन्त्रालयका पर्यटन विकाश शाखा प्रमुख ओझाले बताए ।

प्रकाशित मितिः     २१ कार्तिक २०७६, बिहीबार १४:१४  |