तालैतालको घोराही : तरकारी खेतीदेखि पर्यटक आउन थाले, मुख्यमन्त्रीले प्रशंसा गरे


घोराही (दाङ्ग)२२ कात्र्तिक – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले वडा नम्बर २ बलामपुरमा बनाएको जलाशयको निरीक्षण र त्यसबाट सिचाईले तरकारी फलाएका किसान सँग भेटघाट गरेका छन् । मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशय र त्यसबाट कृषकलाई पुगेको फाईदा देखेर प्रशंसा गरे । संगै रहेका नगरप्रमुख नरुलाल चौधरीलाई नमुनायोग्य काम गरेको धन्दै आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिन प्रोत्साहन पनि गरे ।

उक्त कृत्रिम जलाशयले २० विगाहमा सिचाई पुराएको छ । अहिले बारीभरी टमाटर, काक्रा, गोभी, मकै, सिमी लगाएतका तरकारी खेती गरिएको छ । घोराही उपमहानगरपालिकाले दुई वर्षमा १८ जलाशय निर्माण गरेको हो । कतिपय साना पोखरी भएपनि अधिकांश प्राकृतिक रुपमा बनेका ताल झै ठूला छन् । सिमित साधन श्रोत छ, गर्नुपर्ने काम धेरै छन् । नगरपालिका नेतृत्वले जलाशय निर्माणको कामलाई प्राथमिकता दियो । खानेपानी र सिंचाईको समस्या समाधानका लागि घोराही उपमहानगरपालिकाको यो काम दीगो समाधान हुनसक्छ ।

जलाशय निर्माण भएपछि व्यवसायिक तरकारी खेती गर्ने किसान बढेका छन् । तरकारी बेचेर आम्दानी गर्न थालेपछि जलाशय आसपासका बासिन्दाको मुहारमा चमक देखिन थालेको छ । जलाशयमा पाहुना चरा बढेका छन,जलाशय हेर्न र घुम्न आउने पर्यटक बढेका छन् । घोराही उपमहानगरपालिकाले गरेको यो उदाहरणीय कामलाई प्रोत्साहन गर्न प्रदेश सरकारले यो वर्ष जलाशय निर्माणका लागि ३ करोड रुपैंयाँ विनियोजन गरेको गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी बताउँछन् । अरु स्थानीय तहलाई पनि यस्तै जलाशय निर्माण गर्न आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने गर्ने स्पष्ट पारेको छ ।

बर्षेनी बढ्दै गएको पानीको संकट न्युनिकरणका लागि जलाशय निर्माणमा तत्काल जुट्न आवश्यक भएको मुख्यमन्त्री पोख्रेलले जनाए । सडक निर्माण मात्रै विकास हो भन्ने चिन्तनबाट मुक्त हुन आवश्यक छ । पानीको अभावकै कारण कतिपय पहाडी क्षेत्रका गाउँ खाली भइरहेको, तराईमा भूमिगत पानीको सतह घट्दै जादा चापकलमा पहिले जस्तो पानी आउन छाडेको छ ।

प्रकाशित मितिः     २२ कार्तिक २०७६, शुक्रबार ०७:२३  |