सुर्खेतमा कफी प्रशोधन उद्योग खोल्न दक्षिण अफ्रिकाबाट रु ५० लाख लगानी भित्रिदै


नेपालगञ्ज २२ कात्र्तिक – कफी उत्पादन गर्ने उद्योगको लागि दक्षिण अफ्रिकाको एउटा कम्पनीले सुर्खेतमा रु ५० लाख लगानी गर्दै छ । हिमालय माउण्टेन कफी प्रोडेक्सन प्रालि नामक उद्योग मार्फत दक्षिण अफ्रिकाको लगानी भित्रिदै हो । उद्योग बिभागमा दर्ता भएको सो उद्योग सुर्खेतको कुन ठाउँमा सन्चालन हुँदै छ भन्ने खुलेको छैन् ।

उक्त उद्योग गत आर्थिक वर्ष २०७५/०७६ मा उद्योग बिभागमा दर्ता भएका हो । उक्त आर्थिक वर्षमा कर्णाली प्रदेश सन्चालन अनुमति पाउने ठुलो एक मात्र उद्योग पनि हो । २० मेट्रिकन टन हरियो कफीको बिन (दाना) प्रशोधन गर्ने लक्ष्य राखेको उक्त उद्योग सन्चालन पछि १५ जनाले रोजगारी पाउने छन् । यो लगानी शतप्रतिशत बिदेशी हो ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बिरेन्द्रनगरमा कफीको उत्पादनको सम्भावना नभए पनि दैलेख, जाजरकोट जस्ता ठाउँमा त्यसको सम्भावना रहेको बताउँछन् । ‘अन्त उत्पादन गरेर सुर्खेतमा प्रशोधन गर्ने उद्योग हुन सक्छ । यस बिषयमा खासै जानकारी भएन’– कँडेलले भने । उनले कर्णालीमा लगानी भित्रिनु राम्रो संकेत भएको बताए ।

प्रकाशित मितिः     २२ कार्तिक २०७६, शुक्रबार १०:३१  |