‘राप्ती नदीको माथिल्लो सतहमा नयाँ योजना बन्दा सिक्टा प्रभावित हुन भएन’–अथक


नेपालगञ्ज २३ कात्र्तिक – प्रदेश पाँचको महत्वपूर्ण नदी राप्ती आधारित एकीकृत गुरुयोजना बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ । जल तथा उर्जा आयोगको आयोजनामा घोराहीमा शुक्रवार शुक्रवार आयोजित अहिलेसम्मको अध्ययन प्रस्तुती र सरोकारवालाको सुझाव लिने काम सम्पन्न भयो । माडी डाइभर्सन, नौमुरे बहुउद्देश्यीय आयोजना, प्रगन्ना, बड्कापथ र सिक्टा सिचाई आयोजनालाई पानी पुग्ने र नदीमा पानीको बहाब निरन्तर गर्ने गरी जलाशय बनाउने र यो सभंव भएको जल तथा उर्जा आयोगको अध्ययनले देखाएको छ ।

राप्तीको पानी प्रयोग बारे बन्ने एकीकृत गुरुयोजनाप्रति बाँकेको गम्भीर चासो प्रकट भएको छ । नदीको माथिल्लो सतहमा बनाउने जुनसुकै योजनाले गौरवको आयोजना सिक्टा सिंचाईलाई तलमाथि हुन नदिनेमा सचेत हुनुपर्ने भन्दै बाँके क्षेत्र नं. १ का प्र्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथकले सरोकारावाला निकायको गम्भीर ध्यानार्कषण गराएका छन् । घोराहीमा शुक्रवार भएको कार्यक्रममा अथक स्वंय पुगेका थिए । उर्जामन्त्री बर्षमान पुन, मुख्यमन्त्री शंकर पोख्रेलकै सामुन्ने अथकले राप्ती नदीमा बन्ने जुनसुकै परियोजनाले बाँकेलाई प्रभावित पार्न नहुने बताउँदै सचेत गराए ।

‘राप्ती नदीको पानीको बहुप्रयोगका लागि बन्ने योजनामा हाम्रो समर्थन रहन्छ । तर ती योजना बन्दा बाँकेलाई नोक्सानी हुने अवस्था आए हामी स्वीकार गर्दैनौ । त्यसमा सचेत हुनुहोला ।’– अथकले भने । कपिलवस्तुका साना ठूला जलाधारको अध्ययन गर्न, दाङको गुहार खोला र पातु खोलामा ड्याम बाँधेर संकलन भएको पानीबाट सिंचाई र खानेपानीमा प्रयोग गर्न आधार तय भएको छ । नदीको माथिल्लो सतहमा ड्याम बाँधेर अन्तै पानी लैजादा बाँकेमा पानी नै नआएर सिक्टा जस्ता योजना प्रभावित हुने होकी भन्ने चिन्ता प्रकट गरिएको छ ।

https://youtu.be/NQ7-Vo6XUQg

प्रकाशित मितिः     २३ कार्तिक २०७६, शनिबार ०८:३०  |