‘बाँकेमा पर्यटनक्षेत्रको लगानी उत्साहजनक छ,त्यसलाई टिकाउन पूर्वाधार चाहियो’


  • पशुपतिदयाल मिश्र

नेपालगञ्ज देशकै पुरानो र ऐतिहासिक शहर हो । राजनीतिक, आर्थिक र प्रशासनिकरुपमा पश्चिमको ‘ट्रान्जिट’का रुपमा स्थापित छ । नेपालगञ्ज ठुलो शहर हुँदाहुँदै यसलाई राज्यपक्षबाट बेलाबखत पीडा दिने काम भइरहन्छ । पंचायत, बहुदल होस् चाहे गणतन्त्र ! कहिल्यै राज्यका तर्फबाट प्रोत्साहन मिल्ने काम गरिएन । बरु यहाँ भएका सरकारी कार्यालय अन्यत्र सार्ने काम भयो । अहिले त झन् अपायक प्रदेशमा बाँकेलाई राखेर राजनीतिक र प्रशासनिकरुपमा कमजोर पार्ने काम गरिएको छ । सरकारी कार्यालय अनेक ठाउँमा सारिएका छन् । मानिसको फ्लो घट्दै जाने चिन्ता प्रकट गर्न थालिएको छ । यहाँको भविष्यका बारेमा चिन्तन मनन् हुने गरेको छ ।

राज्यको नजरमा नेपालगञ्ज परेको छैन । तर नीजि क्षेत्रले भने यसलाई आफ्नो नजरमा पारेका छन् । उनीहरुले यो शहरको महत्व बुझेका छन् । उद्योग, कलकाखानादेखि होटल लगायत सेवाक्षेत्रमा उल्लेखिय मात्रामा लगानी भित्रा्एका छन् । पछिल्लो एक दशकयताको सूची हेर्नु भयो भने बाँकेमा होटल क्षेत्रमा मात्र ठुलो लगानी भएको देखिन्छ । पछिल्लो समय क्यासिनो, फनपार्क र सुपरमार्केट सन्चालनले यहाँको परिचय फेरिदै गएको आभास भइरहेको छ । पश्चिमको पर्यटनक्षेत्रको ‘ट्रान्जिट’ भएका कारण नेपालगञ्जको सेवाक्षेत्रमा लगानी बढ्दै गएको हो ।

सेवाक्षेत्रमा लगानी बढ्दा यहाँ रोजगारी बृद्धि भएको छ । सरकारी कार्यालय अन्यत्र सर्दाको पीडामा मल्हम लगाएको छ भन्दा हुन्छ । तर राज्यले पूर्वाधार तयार नगर्ने हो भने यो लगानी र रोजगारी गुम्ने खतरा पनि उत्तिकै छ । निजीक्षेत्रले गरेको लगानीलाई प्रोत्साहन गर्न राज्यले पूर्वाधार तयार गर्ने हो । त्यो नेपालगञ्जमा राज्यले गर्छ की गर्दैन् हामी गम्भीर चासो र चिन्ता छ ।

राज्यले तयार पार्ने पूर्वाधार भनेको नेपालगञ्जमा बिमानस्थलको स्तारेन्नती हो । नेपालगञ्जदेखि दिल्ली उडान, पोखरा उडान हुन सक्यो भने पर्यटक लगायतको फ्लो बढ्छ । त्यसले यहाँको सेवाक्षेत्रलाई टिकाईराख्न सहयोग पुर्याउँछ । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र पहाडी जिल्लाको पर्यटकीयक्षेत्रसंग नेपालगञ्जलाई जोड्न सडकको स्तारेन्नती लगायतका काम हुनुपर्छ । यि बाहेक नेपालगञ्जलाई शैक्षिक हब बनाउने गरी बिश्वबिद्यालय निर्माण लगायतका काममा राज्यको ध्यानार्कषण हुनुपर्छ ।

देशमा संघीयता आयो त्यो राम्रो कुरा हो । तर संघीय नेपालमा नेपालगञ्जले गुमाएको महसुस गरिरहेको छ । प्रदेशको राजधानी हाम्रो दावी हो । त्यो हुन नसकेपनि राज्यले पूर्वाधार तयार गरेर बाँकेलाई आर्थिक राजधानीका रुपमा विकास गर्न सक्नुपर्छ । अब हामीले सरकारलाई त्यसरी दवाव दिनुपर्छ । (कुराकानीमा आधारित)

प्रकाशित मितिः     २४ कार्तिक २०७६, आईतवार ०८:५५  |