काठमाडौं। सरकारले ह्याचरी उद्योगहरुले आयात गर्ने चल्ला बनाउने अन्डामा ५० प्रतिशत भन्सार छुट दिएको छ। आर्थिक ऐन २०७६ संशोधन गरेर सरकारले पोल्ट्री फार्मलाई भन्सार छुट दिएको हो। संशोधित भन्सार ऐनमा ‘कुखुरा पालन व्यवसायका लागि आवश्यक पर्ने भन्सार उपशिर्षक ०४०७.११.०० र ०४०७.१९.०० मा पर्ने चल्ला कोरल्नका लागि निषेचित फुलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइनेछ’ भनि उल्लेख गरिएको छ।
भन्सार छुटले पछिल्लो समयमा युवाहरुको मुख्य आकर्षणको पेशा बनेको कुखुरा पालन व्यवसायलाई अझ सहज बनाउनेछ। भन्सार छुटको माग गर्दै एक महिना अघि ह्याचरी व्यवसायीहरुले अर्थमन्त्री युवराज खतिवडालाई भेटेका थिए।c’सरकारको बजेट बक्तव्य र आर्थिक ऐनमा फरक परेपछि मैले अर्थमन्त्रीलाई भेटेर शतप्रतिशत भन्सार छुटका लागि आग्रह गरेको थिए’, अविनाश ह्याचरीका अध्यक्ष गुणचन्द्र विष्टले भने। ‘यसले व्यवसायीलाई केही राहत मिलेको छ’- उनले भने।
ह्याचरी उद्योगले एक पटकमा ७ लाख भन्दा बढी अन्डा आयात गर्दै आएको पनि उनले जानकारी दिए। अब पोल्ट्री फर्महरुले चल्ला उत्पादन गर्ने अन्डा आयातमा ५ मात्रै प्रतिशत भन्सार तिर्नु पर्नेछ। आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा पोल्ट्री उद्योगलाई दीर्घकालीन समयसम्म सहज हुने गरी व्यवस्था गरिने उल्लेख छ। बिजमाण्डु डटकमबाट