‘…अनि नेपालगञ्ज मानसरोवरको ट्रान्जिट बन्यो’–असित शम्सेर राणाको अनुभव


असित सम्शेर राणा : प्रबन्ध निर्देशक, होटल स्नेहा

नेपालगञ्ज अर्थात पश्चिमको ठुलो र ऐतिहासिक शहर । आर्थिक क्षेत्रको ‘हब’ । सहिष्णु शहर । यो शहरलाई चिनाउन यस्तै–यस्तै उपमा दिने गरिन्छ । त्यसमा पछिल्लो समय थपिएको छ, कैलाश मानसरोवर जाने बाटो ! अर्थात भगवान महादेवको बासस्थान दर्शन गर्न जाने तिर्थयात्रीको ‘ट्रान्जिट’ । पछिल्लो केही वर्षयता नेपालगञ्जले पाएको यो उपमा अचानक भएको भने होइन । त्यसको लामो पृष्ठभूमी छ ।

धार्मिक तथा अन्य पर्यटन पूर्वमै केन्द्रीत छन् । काठमाण्डौको नजरमा पश्चिम छैन भन्दा फरक पर्दैन । मानसरोवर यात्रा त्यसबाट अछुत हुने कुरा भएन । तातोपानी नाका हुँदै भारतीय तिर्थयात्रीहरु कैलाश जान्थे । अन्य रुट नभएकाले बिकल्प थिएन । तर पछिल्लो पटक आएको बिनासकारी भूकम्पले तातोपानी नाका ठप्प बनाएपछि त्यहाँबाट तिर्थयात्रीहरु जान सकेनन् । बिकल्पमा अर्को गन्तव्यको खोजि हुँदैन थियो । अनि त्यो बिकल्प बन्यो नेपालगञ्ज–हिल्सा ‘रुट’ । सरकारबाट यो रुटको अनुमति पाउन भने निकै सकस व्यहोर्नुपरेको बताउँछन्, असित शम्सेर राणा ।

राणा ती व्यक्ती हुन, जसले नेपालगञ्ज–हिल्सालाई कैलाश मानसरोवरको नयाँ रुट बनाउन पहलकदमी लियो । होटल स्नेहाका सन्चालक रहेका राणा तीन दशक भन्दा लामो समयदेखि पर्यटन तथा हस्पिटालिटीक्षेत्रमा छन् । उनलाई यहाँको होटल र पर्यटन क्षेत्रको आरोह, अवरोह राम्ररी थाहा छ । बाँके, बर्दियाको पर्यटनक्षेत्रलाई व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

नेपालगञ्ज–हिल्सालाई कैलाश मानसरोवरको रुट बनाउन महिनौ लागेको राणा बताउँछन् । भन्छन्,–‘हुम्ला, डोल्पा जस्ता जिल्लालाई निषेधित क्षेत्र भनिदो रहेछ । खै खम्पा बिद्रोह हो की के कारणले गर्दा त्यहाँ जो पायो त्यही जान नपाउने रहेछ । त्यस्तो अवस्थामा समेत हामीले कैलाश मानसरोवरका लागि हुम्ला जिल्लालाई खुल्ला गराउन सकेका थियौं ।’

राणाका अनुसार, निषेधित जिल्ला खुलाउन गृहमन्त्रालय देखि ठुला निकायमा महिनौ दिन धाउनुपरेको थियो । ‘पश्चिमलाई पर्यटकिय गन्तव्य बन्ने नदिने जस्तो देखियो । तर निकै धाइरहेपछि अन्तत हामी सफल भयौं ।’ राणा भन्छन–‘त्यो सफलताको अनुभुती अहिले सबैलाई भइरहेको छ ।’ त्यसरी शुरु भएको कैलाश मानसरोवरको नेपालगञ्ज र हिल्सा नयाँ गन्तव्य अहिले पनि जारी छ । यसलाई अझ व्यवस्थित गर्नुपर्ने राणाको बुझाई छ । ‘यो रुट स्थायी बनाउन निजीक्षेत्र र सरकार मध्ये कस्ले के–के गर्नुपर्ने हो गरौं ।’– राणाले भने ।

राणा मंगलवार नेपालगञ्जमा आयोजितक पर्यटन प्रर्बधन सम्बन्धी एक कार्यक्रममा सहभागि भए । उनले यहाँको पर्यटक प्रर्बधनका बिषयमा आफ्ना धारणा राख्ने क्रममा भने,–‘बाटो,घाटो केही नभएको अवस्थामा मैले पुरानो घरलाई नयाँ बनाएर होटल चलाएको हो । त्यसबेला कहाँबाट पाउना ल्याउने होला र कसरी होटल चल्ला भनेर सोच्ने गथ्र्यौ । अहिले अवस्था फेरिएको छ ।’

नेपालगन्जको विकास भएको तर सन्तोषजनक नभएके राणाको बुझाई छ । उनी भन्छन्,–‘जति विकास हुनुपथ्र्यो त्यति भएन । यहाँको विकास कछुवाको गतिमा भए जस्तो लाग्यो ।’ राणाले निजीक्षेत्रले होटल तथा पर्यटनका क्षेत्रमा उल्लेखिय लगानी गरेको भए पनि सरकारका तर्फबाट पूर्वाधार बनाउन अल्छि गरेको महसुस गरेका छन् । ‘पोखरा, दिल्ली उडानको कुरा छ । त्यो हुन सक्यो भने राम्रै हुन्छ । हामीले त सम्भावना बोकेको शहर भनेर लगानी गरेका हौं । बाँकी वातावारण बनाउने काम सरकारका तर्फबाट होस् ।’–राणा भन्छन् ।

राणा बाँकेको पर्यटनको विकासका लागि जिल्लाभित्रै सम्भावनाको खोजी गर्नुपर्ने बताउँछन् । उनका अनुसार, बिभिन्न धार्मिक,सांस्कृतिक विविधताको समाजलाई पर्यटनसंग जोड्न सकिन्छ । बिदेशीहरु स्थानीय संस्कृतिक अध्ययन र अवलोकन गर्न चाहाने भएकाले आगामी दिनमा बाँकेलाई त्यसरी पनि जोड्न सकिने राणा बताउँछन् । बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटनसंग जोड्नुपर्ने र राप्दी नदीको जलाशयमा बोटिङ्ग जस्ता कामहरु गराउन सकिने राणा बताउँछन् । उनी भन्छन्,–‘हामीसंग बाँके र बर्दियामा निकुञ्ज छ । अन्य नदी, ताल तलैया छन् त्यसलाई पर्यटनसंग जोड्न सकिन्छ । यसो हुन सक्यो भने बाँके निरास हुनुपर्दैन ।’

प्रकाशित मितिः     २७ कार्तिक २०७६, बुधबार ०७:३०  |