बर्दिया – महेन्द्र राजमार्गसंग सटेको बाँसगढी नगरपालिकामा औद्योगिक केन्द्रका रुपमा उदाउँदै छ । आयकर छुट लगायतका कारण देशकै सबैभन्दा ठुला औद्योगिक घराना चौधरी समूह, हिम श्री फुड्सले यहाँ लगानी भित्रा्एका छन् । चौधरी समूहको वाईवाईले उत्पादन शुरु गरेको छ । गण्डकी नुडल्स्ले रारा चाउचाउ उत्पादन गर्ने गरी पूर्वाधार बनाइरहेको छ । त्यस्तै गोखा ह्याचरी पोल्ट्री फार्म भित्रिएको छ । हिम श्री फुड्सले रारा लगायतका चाउचाउ उत्पादन गर्दैछ । उद्योग बिभागका अनुसार, उक्त उद्योगले बाँसगढीमा रु ६२ करोडमा चाउचाउ उद्योग खोल्दैछ । साना ठुला नयाँ उद्योग थपिने क्रममा रहेको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु बताउँछन् ।
‘पछिल्लो केही वर्षयता उद्योग थपिने क्रम बढेको छ ।’ संघका अध्यक्ष थारु भन्छन्,–‘तर जति आउनुपर्ने हो आउन नसकेको मैले महसुस गरेको छु ।’ अध्यक्ष थारुले उद्योग सञ्चालनका लागि जग्गा र श्रम शक्तिको उपलब्धता बाँसगढीमा राम्रो छ । उद्योग सञ्चालनका लागि ठुला मात्रामा जग्गा आवश्यक पर्छ । नेपालगञ्ज जस्ता ठाउँमा जग्गाको मूल्य अधिक पर्ने गरेपछि त्यसभन्दा सस्तो पर्ने बाँसगढीलाई उद्योगीहरुले रोज्ने गरेको अध्यक्ष थारु बताउँछन् । उनी भन्छन्,–‘जग्गा अन्यत्र भन्दा सस्तो छ । डुबान नहुँने उचो ठाउँमा भएकाले उद्योगीको रोजाईमा परेको हो ।’
भञ्सार नाका र पहाडी जिल्लामा सामान पठाउन सिधा बाटो नभएका कारण पनि बाँसगढीमा अपेक्षाकृत उद्योग खुल्न नसकेको थारु बताउँछन् । बाँसगढीमा खुलेका उद्योगका लागि नेपालगञ्ज नाकाबाट कच्चा पदार्थ भित्रा्उछन् । उत्पादन भएका सामाग्री कोहलपुर हुँदै कर्णालीमा पठाउनुपर्छ । ‘कच्चा पदार्थ भित्रा्उन र उत्पादन भएका सामाग्री पहाडी जिल्लामा पठाउन कठिन छ ।’– थारुले भने । पर्यटन क्षेत्रमा मात्र केन्द्रीत बर्दियामा उत्पादनमूलक उद्योग पनि बढ्दै छन् । अध्यक्ष थारुले बाँसगढीले लगानीकर्ताको ध्यान खिचेको बताए ।