कैलाली। वर्षाका कारण रोकिएको धनगढी विमानस्थल स्तरोन्नतिको काम फेरि शुरु भएको छ। गत जेठ २९ गते विमानस्थलमा पहिलो चरणको स्तरोन्नतिको काम सकिएको थियो। जेठमा एक महिनामा धावन मार्ग स्तरोन्नति गर्ने भनेर उडान नै ठप्प पारेर थालिएको काम सात दिन लम्बिन पुगेको थियो। त्यसकै निरन्तरताका लागि वर्षामा रोकिएको काम फेरि सुरु भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए।
१७ करोड ८८ लाख लागतमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य एक वर्षमा सम्पन्न गर्ने सम्झौताअनुरूप गत वैशाख २२ गतेबाट सुरु भएको थियो। त्यसको ठेक्का लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जे भी काठमाडौंले पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ। अहिले धावनमार्गमा ओभरलेयर गर्ने कार्य जारी छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने र पार्किङ क्षेत्र विस्तारको योजनासमेत रहेको छ।
विमानस्थल आजबाट दैनिक १६ घण्टा बन्द हुने
गत वैशाखदेखि जेठसम्म एक महिना धनगढी विमानस्थलको धावन मार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। अहिले पनि ४ सय २० मिटर ओभरलेयर हुन बाँकी धावन मार्गका लागि दैनिक १६ घण्टा विमानस्थल बन्द हुने भएको बुड्थापाले बताए।
विमानस्थल एक महिनासम्म दिउँसो ३ बजेदेखि बिहान ७ बजेसम्म बन्द रहने उनको भनाई छ। यो बन्द अवधिमा पार्किङ क्षेत्र विस्तारको काम समेत गरिने छ। धनगढी विमानस्थलमा अहिले नेपाल एयरलाइन्स लगाएर दैनिक ५ वटा उडान हुँदै आएका छन्। नेपाल एयरलायईन्ससहित अब दैनिक ४ वटा उडान हुने छन्।
विमानस्थल कार्यालयले दिउँसो तीन बजेदेखि ७ बजेसम्म हुने उडान अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेपछि श्री एयरलाइन्सले समय तालिका फेरबदल गरेको छ। बुद्ध एयरलाइन्सले भने दिउँसोको एउटा उडान नगर्ने जनाएको छ। नेपाल एयरलाइन्सको उडान भने हप्तामा तीन दिन यथावत् रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
-महेन्द्र बम/बिजमाण्डू