होमस्टे खोज्दै कर्णालीमा


सुर्खेत – कर्णालीको पर्यटन विकासको आधार होमस्टे बन्न सक्ने निष्कर्ष सहित होमस्टे एशोसिएशन नेपालले सरोकारवाला निकायको ध्यानार्कषण गराएको छ । केन्द्रीय अध्यक्ष केशव बडाल, सचिव कृष्णलाल चौधरी सहितको टोलीले कर्णाली प्रदेशका उद्योग तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्री दल रावल लगायतलाई भेटेर होमस्टेका लागि अग्रसर हुन सुझाव दिएको हो । स्वकिय सचिव मार्फत मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पनि ध्यानार्कषण गराइएको छ ।

प्राकृतिकरुपमा शुन्दर कर्णालीमा पर्यटन तान्ने प्रमुख आधार होमस्टे बन्ने निश्चित भएको अध्यक्ष बडालले बताए । उनले भने,–‘हामी ठुला–ठुला होटलको खोजि गर्नतर्फ नलागौ । होमस्टे बिस्तार गरेर पर्यटक तान्न सक्छौ । यो कुरा अन्त भन्दा कर्णालीमा अझ सम्भावना छ ।’ केन्द्रीय सचिव चौधरीले कर्णालीमा होमस्टेका लागि स्थानीयको चासो हुनुपर्ने र प्रदेश तथा स्थानीय तहको सहयोग रहनुपर्नेमा जोड दिएका छन् ।

होमस्टे एशोसिएशनको टोलीसंगको भेटघाट उद्योग तथा पर्यटन मन्त्री बुढा, सामाजिक विकास मन्त्री रावलले होमस्टे बिस्तार आफुहरुको पनि प्राथमिकताको विषय भएको बताएका छन् । गुर्भाकोट लगायतका ठाउँमा होमस्टे बिस्तारका लागि बजेट बिनियोजन गरिएको भन्दै सबैको सहकार्यमा अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

होमस्टे एशोसिएशनको टोलीले बीरेन्द्रनगर १३ मा रहेको हाम्रो आफर नमुना होमस्टेको अवलोकन गरेको थियो । त्यस्तै प्रदेशस्तरिय होमस्टे एशोसिएशनको तदर्थ समिति गठन गरेको केन्द्रीय सचिव चौधरीले बताए । उनले भने,–‘अब यही समितिको सक्रियतामा कर्णालीमा होमस्टे बिस्तार हुन्छ ।’ कर्णालीमा हालसम्म होमस्टेको संख्या २५ पुगेको छ । कृष्ण चौधरीकै नेतृत्वमा मुगुको बिकट गाउँमा होमस्टे प्रशिक्षण सम्पन्न भइसकेको छ । गाभर होमस्टे स्थापित गर्न सकेका चौधरीले कर्णालीमा यसको राम्रो सम्भावना रहेको बताए ।

यस्तो छ, होमस्टे एशोसिएशन कर्णाली प्रदेशको तदर्थ समिति –

संयोजक – कृष्ण थापा
सहसंयोजक – धिरेन्द्र भाम
सदस्य
रामराज कार्की
खगीसरा सारु
प्रतिमा लामा
दिलबहादुर चौधरी
अजय मल्ल
धनकुमारी चन्द
कार्मा सार्की
रचना बाठा
नेत्रजंग रावल
अम्बिका शाही

प्रकाशित मितिः     ४ मंसिर २०७६, बुधबार ०७:२३  |