बाँके – गुलरिया नगरपालिका खैरापुरका कृषकले यसपटक धान काट्ने, झाट्ने काम फरक तरिकाले गरे । दिनहु मान्छे लगाएर धान काटेनन् भने मान्छेले झाट्नु पनि परे । कम्वाईन हारवेष्टर मेशिनले सबै काम केहीबेरमै सिध्याइदियो । कृषकलाई हाइसन्चो । खैरापुरमा मात्र होइन बर्दिया जिल्लाका आधा दर्जन ठाउँमा यस्तो अत्याधुनिक मेशिनबाट धान काट्ने र त्यसको व्यवस्थापन गर्ने काम धमाधम भइरहेको छ । खैरापुरकी कृषक दिलु थारु भन्छिन्,–‘पहिला जस्तो दुःख छैन् अहिले । मेशिनले नै सबै काम गर्दिन्छ ।’
बाँके, बर्दियाका कृषक अत्याधुनिक प्रविधि तर्फ आर्कषित भएको कृष ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन् । धेरै पहिलासम्म गहुँमा थ्रेसरको प्रयोगलाई अत्याधिक रुचाइएको थियो । तर अहिले त्यो भन्दा पनि अब्बल प्रविधिको धमाधम प्रयोग भइरहेको ढकालले बताए । धान र गहुँमा मात्र होइन अन्य खेतीपातीमा पनि प्रविधिको प्रयोग भइरहेको छ । बर्दिया,बासगढी नगरपालीका १ बबई चेपाङ्गका (३२) झुपलाल न्यौपानेले बबई नदिको किनारमा नयाँ टेक्नोलोजी, आधुनिक प्रविधि अपनाएर १५ विगाह क्षेत्रफलमा व्यवसायिक केरा खेती गरेका छन । १५ विगाहामै थोपा सिचाई प्रविधि जडान गरेर गरीएको केरा खेती फस्टाएको छ ।
१० कट्ठा क्षेत्रफल बाट सुरु गरीएको व्यवसाय बढेर १५ विगाह पुगेको छ । अन्य व्यवसाय भन्दा केरा खेतीमा एउटा सामान्य व्यक्तीले पनि धेरै क्षेत्रफलमा धेरै दुख मेहेनत नगरी हेरचाह गर्न सक्ने अन्य बालि भन्दा ५० प्रतिशत बढि आम्दानी हुने भएकाले यसलाई व्यवसायिक बनाउदै लगेको कृषक न्यौपाने बताउछन । वर्षमा ४० लाख सम्मको केरा विक्रि गर्ने गरेका छन । हाल १५ विगाहमा खेती गरेपनि अरु ३५ विगाह भाडामा लिइसकेको र अब ५० विगाह क्षेत्रफलमा केरा खेती गरीने योजना रहेको न्यौपानेले बताए । युवा कृषक झुपलाल आफ्नै देशमा बसेर केहि गर्न पर्छ जसले धेरै जनालाई फाइदा पुगोस भनेर केरा खेती तिर लागेको बताउछन ।
झुपलाल विदेशमा गएर दुई चार वर्ष दुःख गर्नुभन्दा लामो समय आफ्नै गाउँ ठाउँमा व्यवसायिक खेती गरेर राम्रो आर्थिक आम्दानी गर्न सकिने बताउछन । युवा कृषक न्यौपाने केरा खेती गर्नु भन्दा विजुलीको पसल गरेरै काम गर्ने गर्थे । झुपलाल अनुभवी इलेक्ट्रीसियन पनि हुन । ‘सामान्य पसल मात्र गरेर केहि नहुने देखेर अलि वृहत रुपमा व्यवसायिक बन्न पर्छ केहि अन्य स्थानियलाई पनि रोजगारी दिन पर्छ भन्ने लागेर केरा खेती तिर लागेको हुँ’—कृषक झुपलालले भने । हाल दिनहुँ १० जना स्थानियलाई झुपलालले आफ्नो केरा व्यवसायिमा रोजगारी दिएका छन । दुई छोरी र एक छोरालाई गुणस्तरीय शिक्षा प्रदान गर्न केरा खेतीले सहयोग पु¥याउने बताउछन् । व्यवसायिक रुपमा गरीरहेको केरा खेती बाट बार्षिक १५ लाख आम्दानी गरीरहेको युवा कृषक झुपलालले बताए ।