छ महिना अगावै उपमहानगरलाई ‘ल्याण्डफिल साइट’ को जिम्मा


नेपालगञ्ज ४ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाले हिरमिनियाको १३ बिघा क्षेत्रफलमा निर्माण भएको एकिकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) छ महिना अगावै व्यवस्थापनको जिम्मा लिनुपर्ने भएको छ । मुख्य दाता एशियाली विकास बैंकको तर्फबाट डिसेम्बरबाटै काम बन्द भए पछि उपमहानगरपालिकाले बाँकी व्यवस्थापनको काम गर्नुपर्ने अवस्था आएको मेयर धवल शमसेर राणाले जानकारी दिएका छन् ।

‘पूर्णरुपमा सन्चालन भएपछि पनि एक वर्षसम्म उसैले हेर्ने गरी योजना बनेको थियो । तर उनीहरुले डिसेम्बरबाट खाता क्लोज भयो भने जस्तो कुरा गरे ।’ मेयर राणाले भने–‘यसकारणले गर्दा छ महिना अगावै हामीले व्यवस्थापनको जिम्मा लिनुपर्ने भयो ।’ अहिले उपमहानगरपालिकाले ल्याण्डफिल साईटमा कार्यालय खोल्नेदेखि सम्पूर्ण काम शुरु गरिसकेको छ । ल्याण्डफिल साईट सन्चालनको मासिक खर्च रु ३५ लाख छ । अब उपमहानगरपालिकाले यसको स्रोत जुटाउनुपर्ने चुनौती आइलागेको मेयरले बताए । ‘यस्तो हुन्छ भन्ने पहिल्यै थाहा पाएको भए बजेटको स्रोत खोजिन्थ्यो तर भएन । अब स्रोत व्यवस्थापनको चुनौती पक्कै पनि आएको छ ।’ राणाले भने–‘आखिर छ महिना पछि पनि हामीले नै सम्हाल्नुपर्ने हो त्यसैले बजेटको व्यवस्थापन हुन्छ नै ।’

नेपालगन्जबाट संकलन भएर ल्यान्डफिल साइटमा जम्मा पारिएका फोहोर छुट्याउने, फोहोर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्ययाकी लगायतका निर्माण भएको छ । ल्यान्डफिल साइटमा नेपालगन्ज नगरका शौचालयबाट लगिएको फोहोर भण्डारण गर्ने ट्यांकी गरिएको छ । आयोजनाले ल्यान्डफिल साइटका लागि आवश्यक पर्ने १२ वटा ई–रिक्सासमेत त्यहाँ पु¥याइसकेको छ । फोहोर संकलनका लागि ११ हजार थान ‘डस्टबिन’ ल्याइसकेको छ । फोहोर संकलन गर्ने चारवटा गाडीसमेत ल्यान्डफिल साइटमा पुगिसकेको छ ।

ल्यान्डफिल साइटको निर्माण पूरा भएकाले अब फोहोर संकलनका लागि उपमहानगरपालिकाले घर–घरमा डस्टबिन वितरण गर्ने तयारी गरेको छ । सड्ने र नसड्ने फोहोर राख्नका लागि दुई थरिका डस्टबिन ल्याएर वितरण गरिने छ । फोहोर बोक्ने चारवटा ट्रिपर र एउटा सक्सन ट्यांकर पनि ल्यान्डफिल साइटमा व्यवस्था भइसकेको छ । ल्यान्डफिल साईटमा ३५ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ भने दैनिक ८ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ ।

प्रकाशित मितिः     ४ मंसिर २०७६, बुधबार १२:०१  |