बेल्जियमबाट अण्डा ल्याएर दाङ्गमा कालिजपालन, मासुदेखि चल्लासम्म उत्पादन


दाङ्ग ४ मंसिर- स्वास्थ्यकर्मीको एउटा समूहले दाङ्ग तुलसीपुर–१२ मा व्यवसायिक कालिजपालन शुरु गरेका छन् । हिमालयन वाइल्ड लाइफ एग्रो प्रालि दर्ता गरी उक्त समूहले मासुदेखि चल्ला उत्पादनसम्मको उदेश्य राखेर कालिजफर्म शुरु गरेका हुन । २ बिघाह क्षेत्रफलमा फैलिएको यो कालिज फर्म पश्चिम नेपालमै पहिलो भएको अध्यक्ष निर्मल नेपालले बताए ।

अध्यक्ष नेपालका अनुसार, उक्त फर्म गत असार महिनाबाट शुरु भइसकेको छ । हालसम्म एक हजार कालिजको चल्ला राखिसकिएको छ । बेल्जियमबाट अण्डा ल्याई पोखरामा ह्याचिङ्ग गरी चल्ला ल्याइएको थियो । ‘शुरुमा बेल्जियमबाट अण्डा ल्याएर चल्ला उत्पादन गरे पनि अब भने फार्म उत्पादन गरिरहेका छौं । यसलाई बिउँका रुपमा प्रयोग गरिने छ ।’–अध्यक्ष नेपालले भने ।

चल्लाका लागि फार्ममा भाले र पोथी कालिजको व्यवस्था गरिएको छ । बाँकी रहेका कालिज बिक्री गरिदै आएको नेपालले बताए । ‘कालिजको चल्लाका लागि बिदेश जाननपर्ने गरी व्यवस्था गर्दछौ । तीन वर्षभित्र २० हजार कालिज उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’– उनले भने । फार्ममा हालसम्म रु ७५ लाख खर्च भइसकेको छ । यो खर्च रु १ करोड भन्दा माथि पुग्ने देखिन्छ ।

यहाँ उत्पादन भएका चल्लादेखि मासुसम्म बिक्री गर्ने लक्ष्य छ । त्यसका लागि सरकारी निकायबाट अनुमति लिएर देशभित्रै बिभिन्न ठाउँमा बजारिकरण गर्नेदेखि नेपालगञ्ज लगत्तै रेष्टुरेण्ट खोल्ने योजनामा उक्त समूह रहेको छ । ‘कसैले फार्म बनाएर कालिज पाल्न चाहान्छ भने हामी चल्ला सप्लाई गर्छौ । मासु चाहिएको भए त्यो पनि व्यवस्था गर्छौ ।’ अध्यक्ष नेपालले भने,–‘त्यसबाहेक हाम्रै प्रालिले नेपालगञ्जमा रेष्टुरेण्ट खोल्ने योजना समेत बनाएका छौं ।’

कालिजको मासुका पारखीहरु बढ्दै गएका कारण स्वास्थ्यकर्मी सहितको पाँच जनाको समूहले उक्त फार्म स्थापना गरेको हो । समूहमा नेपाल सहित, हेमराज पाण्डे, बिरेन्द्र गिरी, जनक योगी, युवराज केसीले संयूक्तरुपमा फार्म सन्चालन गरिरहेका छन् । अध्यक्ष नेपालका अनुसार, स्वास्थ्यका लागि पनि अत्यन्त फाईदाजनक हुने भएकाले कालिजको व्यवसायिक पालन फस्टाउने आशा गरिएको छ । तर त्यसका लागि कतिपय कानूनी झण्टझट बाधक बन्न सक्ने देखिन्छ ।

प्रकाशित मितिः     ४ मंसिर २०७६, बुधबार १६:०४  |