बाँके ४ मंसिर – आन्तरिक राजस्व विभागको आयोजनामा शुरु भएको सिस्नुपानी नेपालको देशव्यापी करमैत्री यात्रा बुधवार नेपालगन्जमा पुग्यो । गत कात्तिक २१ गते बनेपाबाट शुरु गरिएको यात्रा देशका १२ वटा ठुला शहरहरुमा पुगेर विभिन्न कार्यक्रम गरेर कर सचेतना फैलाउँदै नेपालगन्ज आएको थियो ।
कार्यक्रमको उदघाटन नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर तिर्नुलाई पनि राष्ट्रियतासंग जोड्नु पर्ने बताए । उनले जसरी हामी सबै लिपुलेक र कालापानीका लागि एकजुट भएर अगाडी बढेका छौं, त्यसरीनै कर तिर्नका लागि पनि अगाडी आउनु पर्ने बताए ।
सो अवसरमा चर्चित हास्यब्यंग कलाकार मनोज गजुरेलले हास्यव्यंग मार्फत कर तिर्ने विशेष सन्देश दिएका थिए । उक्त अवसरमा सिस्नुपानी नेपालका शिशिर योगी, सरोज घिमिरे, लक्ष्मण, टंक, धिरेन्द्र पर्मिर्सी, अर्जुन पराजुली र कमलीकान्त भेटवाल लगायतले गित, कविता, नाटक र हास्यब्यंग मार्फत कर सचेतना फैलाउने प्रस्तुुतीहरु गरेका थिए । कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलले पनि करको महत्व बारे आफ्नो मन्तव्य राखेका थिए ।