नेपालगञ्ज ५ मसिर – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले भ्रष्टाचार विरुद्ध ‘शून्य सहनशीलता’ अपनाएको बताएका छन् । ‘कार्यालय समय बाहिर कस्ले के गर्छ भन्ने कुरामा पछि लागिराख्न नसकिने’ बताउँदै मेयर राणाले समग्रमा संस्थागत भ्रष्टाचार भने पूर्णरुपमा रोकेको दावी गरे । यस्ता सुधारका कामहरु गर्दागर्दै पनि निरन्तर अबरोध झेल्नुपरिरहेको भन्दै उनले चित्त दुखाएका छन् ।
मंगलवार नेपालगञ्जमा सरसफाईसंग जोडिएको एउटा अन्तरक्रियामा उनको चित्तदुखाई प्रकट भएको थियो । ‘जहाँ हात हाल्यो त्यही अवरोध हुन्छ । राम्रैका लागि गर्यौ भन्यो अनेक ठाउँबाट बिवादहरु खडा गरिन्छ ।’ मेयर राणाले भने–‘अबरोधहरु छिचोल्दै जादा कयौं काम समयमा हुन सकेका छैनन् ।’ बागेश्वरी मन्दिरको सटर, सपिङ्ग कम्पलेक्स, ल्याण्डफिल साईट जस्ता कामहरुको उदाहरण दिदै मेयर राणाले भने,–‘नगरपालिकाको दिर्घकालिन स्रोत जुटाउन केही न केही त गर्नै पर्ने होला नी ? यो व्यक्तीगतरुपमा कसैले लिने त होइन । तर पनि बिवाद भइरहन्छ ।’
मेयर राणाले उपमहानगरपालिकाले गर्ने कामका बारेमा जनस्तरबाट क्रिया,प्रतिक्रिया आउने कुरालाई स्वभाविक मानेको बताउँदै भने,–‘मैले जे चाहे त्यो सरासर हुनुपर्छ भनेको छैन । जनस्तरबाट आउने कुरालाई मैले स्वभाविक मान्छु । त्यसलाई कदर गर्छु । तर कतिपय अवस्थामा राम्रै काम गर्दा पनि अवरोध सिर्जना गर्न खोज्दा चित्त दुख्दो रहेछ ।’ मेयर राणाले कस्ले अवरोध सिर्जना गर्यो भनेर खोजि निजी गर्ने भन्दा पनि अवरोधहरु छिचोल्दै विकासको काम गर्न आवश्यक रहेको बताए । उनले भने,–‘ढिलोचाँडो सबैले बुझ्छन् । भनेको बेला काम हुन नसकेपनि अन्तत हामीले सोचेको कुरा पुरा भईहाल्छ । बिवाद मिलाउँदै अगाडी बढ्ने हो ।’