हर्रेमा विषादी परीक्षण गरेर मात्र कर्णालीमा तरकारी बेच्न पाइने, प्रयोगशाला बन्दै


सुर्खेत (हर्रे) ६ मंसिर – कर्णाली सरकारले परीक्षण गरेर मात्र अन्य ठाउँबाट आफ्नो प्रदेशभित्र तरकारी भित्रिन दिने भएको छ । अर्गानिक प्रदेश बनाउने नीति लिएको कर्णाली सरकारले त्यसका लागि हर्रे र सल्यानमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्दै छ । सल्यानमा प्रयोगशाला निर्माणका लागि सहज भए पनि हर्रेमा भने जग्गाको व्यवस्थापन हुन सकेको छैन् ।

जग्गाको व्यवस्थापन छिटो भन्दा छिटो गरेर अन्य प्रदेश र भारतबाट नेपालगञ्ज हुँदै भित्रिने तरकारीको परीक्षण शुरु गर्ने तयारी भइरहेको छ । प्रयोगशाला स्थापना गर्न जग्गाको खोजि गर्नका लागि केही दिन पहिले कृषि निर्देशनालयका निर्देशक चित्र बहादुर रोकाय लगायतको टोली हर्रे आइपुगेको थियो । उक्त टोलीले सरोकारवालासंग छलफल गर्दै जग्गा व्यवस्थापनका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

स्थानीय समाजसेवी एवं शिक्षक महेन्द्र डाँगीका अनुसार, जग्गा व्यवस्थापनका लागि स्थानीयस्तरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । जग्गाको व्यवस्थापन हुने वित्तिकै पूर्वाधार निर्माणको काम गर्ने तयारी भइरहेको छ । प्रदेश राजधानी सुर्खेत लगायत गाउँ गाउँसम्म आयात हुने तरकारीको झन्डै तीन चौथाइ हिस्सा भारतीय तरकारीले ओगटेको छ ।

हर्रे कर्णालीमा भारतीय तरकारी आयात हुने प्रमुख नाका हो । रुपैडिया, नेपालगन्ज हुँदै तरकारी आइपुग्छ । हर्रेमा विषादी परीक्षण जरुरी रहे पनि जग्गा उपलब्ध नहुँदा चालु आवमा पूर्वाधार निर्माण हुन नसकेको हो । भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने र प्रदेशमा अर्गानिक तरकारी उत्पादनमा जोड दिने नीति तय गरिएको छ ।

प्रकाशित मितिः     ६ मंसिर २०७६, शुक्रबार १६:१६  |