२० वर्षभित्र राँझाबाट जेट विमान उडाउने गरी काम शुरु, ‘बजेटमा कमी हुन्न’–पर्यटनमन्त्री


नेपालगञ्ज ७ मंसिर – पश्चिम नेपालको भविष्य बद्ल्ने गरी तयार भएको नेपालगञ्ज विमानस्थलको गुरुयोजना अनुसारको काम शुरु भएको छ । सबै प्रकारका अन्र्तराष्ट्रिय उडान गर्न मिल्ने गरी बनाइएको उक्त गुरुयोजनाका बिषयमा पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा आज शनिवार बाँकेका सरोकारवालाहरुसंग बृहद छलफल भयो । छलफलमा बोल्दै पर्यटन मन्त्री भट्टराईले नेपालगञ्ज बिमानस्थलको गुरुयोजना कार्यान्वयनमा आइसकेको बताए । उनले त्यसका लागि बजेटमा कुने प्रकारको कमी हुन नदिने स्पष्ट पारे । ‘तराईका जिल्लामा रहेका एयरपोर्ट अब मास्टरप्लानका आधारमा बन्छन् । त्यसमा नेपालगञ्जलाई हामीले उच्च प्राथमिकता दिएका छौं ।’ मन्त्री भट्टराईले भने–‘बजेटको कुने पनि समस्या आउन दिदैनौ ।’

मन्त्री भट्टराईले नेपालगञ्ज –दिल्ली उडान प्राथमिकतामा रहे पनि भारतका तर्फबाट प्राविधिक काम नटुङ्गिएका कारण सम्भव हुन नसकेको स्पष्ट पारे । यद्यपी त्यसको प्रयास भने भइरहेको मन्त्री भट्टराईको भनाई छ । उनले भने,–‘त्यसतर्फ पनि हाम्रो पहल रहिरन्छ । यता मास्टरप्लान अनुसार काम पनि धमाधम भइरहन्छ ।’ नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोख्रेलका अनुसार,रु १२ अर्व अनुमानित लागतमा नेपालगञ्ज बिमानस्थलको मास्टरप्लान बनेको छ । हाल एटिआर बिमान उडान गर्न मिल्ने उक्त बिमानस्थलमा मास्टरप्लान अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठुला बिमान पनि चलाउन मिल्छ ।

‘चार चरणमा काम सक्ने योजना छ ।’ महाप्रबन्धक पोख्रेलले भने–‘पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् ।’ पोख्रेलले रनवे बिस्तार, टर्मिनल भवन लगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुने छ । तर त्यसका लागि सबैको सहमति चाहिने उनले स्पष्ट पारे । पोख्रेलले भने,‘सहमति नहुने अवस्थामा हात झिक्नुपर्ने अवस्था पनि आउन सक्छ ।’ डिपिआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप रू.२ अर्ब ८ करोड लगानीमा विमानस्थल बिस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । अन्तराष्ट्रिय स्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडानहरु बन्द गरेर काम गर्नुपर्ने हुन सक्छ । डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिने छ । त्यसैगरि तेस्रो र चौथो चरणको काम भने झण्डै २० बर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ ।

तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तरराष्ट्रियस्तरको बनेको देखिने छ । जसमा रू. ७ अर्ब ४० करोड खर्च हुने अनुमान छ । नयाँ योजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे ३ सी क्याटोगरी अर्थात् १ हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा २ हजार ४४५ मिटर लामो रनवे बनाइने छ । त्यसो गर्दा एयर बस ३२० एनइओ मोडेलका ठूलो जेट विमानहरु सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।

दैनिक ४० ओटा सरदर उडान हुँदै आएको नेपालगन्ज विमानस्थलमा झण्डै १ हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । राजधानी काठमाडौंस्थित् त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजना अनुसार अगाडि बढ्दा १०० विघा जग्गा थप आवश्यक पर्नेछ । हाल १६६ विघा क्षेत्रफल रहेको नेपालगन्ज विमानस्थलका लागि थप १०० विघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने सम्बद्ध अधिकारीले बताए । कार्यक्रमा प्रतिनिधिसभाका सांसद पूर्णकुमारी सुवेदी, महेश्वर गहतराज अथक, सर्वआरा खान, प्रदेश कृषि मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, नेपालगञ्जका मेयर धवल शमसेर राणा लगायतले बोलेका थिए ।

प्रकाशित मितिः     ७ मंसिर २०७६, शनिबार १३:५०  |