नेउवासंघको साधारणसभा : भ्रमणवर्ष सफल बनाउन निजीक्षेत्रले सरकारसंग हातेमालो गर्ने


नेपालगञ्ज ७ मंसिर – भ्रमण वर्ष २०२० आउन अब डेढ महिना जति बाँकी छ । सरकारले भ्रमणवर्षको तयारी गरिरहेको छ । निजीक्षेत्रले पनि भ्रमणवर्षलाई भब्यतापूर्वक सफल पार्न सहयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले बताईन ।

शनिवार नेपालगञ्जमा सम्पन्न नेपालगञ्ज उद्योग वाणिज्य संघ(नेउवासंघ)को साधारणसभाको २८ औं साधारणसभामा बोल्दै अध्यक्ष राणाले भ्रमणवर्षबाट निजीक्षेत्रलाई लाभ हुने बताउँदै त्यसका लागि सरकारसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाइन । पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेको कार्यक्रममा महासंघकी अध्यक्ष राणाले भनिन्,–‘सरकारले गर्ने काममा हाम्रो साथ रहन्छ ।’ राणाले नेपालगञ्जलाई पर्यटन क्षेत्रको विकासमा अगाडी बढाउन सहयोग जरुरी रहेको भन्दै पर्यटनमन्त्रीको ध्यानार्कषण गराएकी थिइन ।

पर्यटनमन्त्री भट्टराइले भ्रमण वर्षलाई सफल बनाउन सबै नागरिकको दायित्व भएको बताए । उनले भने,–‘भ्रमण वर्ष भब्यता तरिकाले शुभारम्भ हुन्छ । यसले आगामी दिनमा लाखौं पर्यटन भित्रिने माहोल बनाउँछ ।’ पर्यटनमन्त्री भट्टराईले नेपालगञ्जको पर्यटन विकासका लागि उच्च प्राथमिकता दिएको बताए ।

साधारणसभाकोे उद्घाटन सत्रमा उत्कृष्ट निर्यातकर्ताका रुपमा गंगा रोजिन टर्पेनटाइन, सिजि बायोटेक, खनाल रोजिन सम्मानित भए । त्यस्तै पत्रकार सिराज खान, सेतुलिमाया श्रेष्ठ, जगदिश बैश्य, रामकृष्ण रस्तोगी, मैउद्धिन अनसारलार्य पनि सम्मान गरियो ।

प्रकाशित मितिः     ७ मंसिर २०७६, शनिबार १५:५६  |