नेपालगञ्ज -नेपाल राष्ट्र बैंकले शिख धर्मका प्रवर्तक गुरु नानक देवजीको ५५० औं जन्म जयन्तीका अवसरमा तीन वटा दरका सिक्का निष्काशन गरेको छ । बैंकले गुरु नानक जयन्तीको प्रतीकका रूपमा रु.१००, रु.१००० र रु.२,५०० दरका स्मारिका सिक्काहरू निष्काशन गरेको हो। गुरु नानक जयन्तीका अवसरमा २०७६ असोज १० गते काठमाडौंमा आयोजित एक समारोहमा तीन वटै दरका स्मारिका सिक्काहरू सार्वजनिक गरिएको हो।
कार्यक्रममा गभर्नर डा. चिरंजीबि नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले संयुक्त रूपमा सिक्का सार्वजनिक गर्नुभयो। सो अवसरमा उहाँहरूले ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकको लोकार्पण समेत गर्नुभयो। बीपी कोइराला भारत नेपाल फाउण्डेशन र भारतीय दुतावासद्वारा प्रकाशित उक्त पुस्तकमा शिख समुदायलाई नेपालसँग जोड्ने प्रयास गरिएको छ । कार्यक्रममा सार्वजनिक सिक्काहरूमध्ये रु.१०० दरको तामा तथा रु.१००० र रु.२५०० दरको चाँदीबाट बनाइएको छ । नेपाल राष्ट्र बैंकले यी सिक्काहरू अंकित मूल्यकै दरमा विक्रीको निम्ति खुल्ला गरेको छ ।
समारोहमा राजदूत मञ्जिव सिंह पुरीले गुरु नानक जयन्ती अंकित सिक्काको प्रकाशन र पुस्तकको प्रकाशनलाई सराहनीय कार्यको रूपमा चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “यो प्रयासले नेपालसँग शिख समुदायको गहिरो सम्बन्ध दर्शाउन मद्दत गरेको छ ।” कार्यक्रममा राजदूत पुरीले शिख धर्मको प्रवर्तनमा गुरु नानकले पु¥याएको योगदानको समेत चर्चा गर्नुभयो। राजदूत पुरीले हरेक मानवले आपूmले आर्जन गरेको ज्ञान र सीप अरुलाई बाँड्नुपर्ने उल्लेख गर्दै गुरु नानक सम्पूर्ण मानव जातिकै गुरु रहेको चर्चा समेत गर्नुभयो।
सो अवसरमा गभर्नर डा. चिरंजीबि नेपालले नेपालको सामाजिक विकासमा शिख समुदायबाट उल्लेख्य योगदान मिलेको चर्चा गर्नुभयो। भावी दिनमा शिख समुदाय र नेपालको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध थप प्रगाढ बन्दै जानुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो।
समारोहमा डेपुटी गभर्नर शिबराज श्रेष्ठ, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के र अन्य अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा भारतीय लोकसभाका पूर्व उपसभामुख चरणजीत सिंह, शोरोमणि गुरुद्वारा कमिटीका अध्यक्ष एस गोबिन्द सिंह लोंगोवाल, शिख सम्प्रदायका एस.हरप्रीत सिंह, अमृतसर, पञ्जाब,
हरियाणा र हिमाञ्चलस्थित ऐतिहासिक गुरुद्वाराका व्यवस्थापकहरू, पञ्जाब प्रदेशका शिख नेताहरूको उपस्थिति थियो। साथै, नेपालका शिख समुदायका प्रतिनिधिको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।