नेपालगञ्ज ८ मंसिर – नेपालगञ्ज उद्योग वाणिज्य संघ (नेउवा)को माघमा हुने निर्वाचनका लागि उद्योगी, व्यवसायी खुलेर बहस र छलफलमा आउन थालेका छन् । आईतवार नेपालगन्जमा संघको चुनावमा कसरी जाने भन्ने बिषयमा छलफल चलाएको छ ।
उसले झण्डै दुई महिना पछि हुने निर्वाचनका प्यानल उम्मेदवारी दिने र अरुसंग सहकार्य गर्ने दुई बिकल्प अगाडी सारेर छलफल गरिरहेको अध्यक्ष सलाउिद्धन जसगढले बताए । आईतवार नेपालगञ्जमा पार्टीका केन्द्रीय महामन्त्री समेत रहेका नेपालगञ्जका मेयर धवल शमसेर राणाले आफु निकट व्यवसायीसंग यिनै बिषयमा छलफल गरेका छन् ।
संघको चुनाव उद्योगी, व्यवसायी माझ मात्र सिमित हुँदैन । यसलाई राजनीतिक दलहरुले आफ्नो प्रभुत्व जमाउने माध्यमका रुपमा समेत लिन्छन् । यस अघि नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले निकट व्यवसायीहरु मुख्य प्रतिस्पर्धीका रुपमा रहन्थे । तर राप्रपा र मधेस केन्द्रीत दल निकट व्यवसायीको भूमिका कम मानिन्थेन ।
तर यसपटक नेकपा माओवादी र एमाले एकिकृत भएकाले मुख्यरुपमा नेपाली काँग्रेस निकट र नेकपा निकट प्यानल बन्न सक्ने देखिन्छ । तर व्यवसायीहरु सकभर पार्टीको छाया भन्दा पनि बिशुद्ध व्यवसायीक मुद्दामा आधारित रहेर प्यानल बनाउनुपर्ने पक्षमा समेत लागेका छन् । केही व्यवसायीहरु बिभिन्न पार्टीगत आस्थामा रहेका व्यवसायीहरुको प्यानल बनाएर चुनाव लड्ने पक्षमा छन् ।
नेपालगञ्जमा राम्रै राजनीतिक पहुँच राख्ने राप्रपा निकट व्यवसायीले संघको चुनावमा सशक्त दावेदारी दिने गरी खुलेरै अगाडी बढेको छ । अध्यक्ष जसगढले संघको चुनावमा आफुहरु प्यानल नै उठाउने गरी चुनाव लड्न सक्ने बिकल्प सहित अगाडी बढेको बताउँदै भने,–‘तर परिस्थिती कस्तो रहन्छ त्यही अनुसार पनि अगाडी बढ्न सकिन्छ ।’