जथाभावी नगर्न कर्णाली प्रदेश सरकार र सांसदलाई नेकपाको निर्देशन


सुर्खेत । कर्णालीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेताहरुले आफूखुशी नगर्न प्रदेश सरकारलाई चेतावनी दिएका छन् । प्रदेश सरकार र सांसदहरु पार्टीभन्दा माथि हुन खोजेको भन्दै नेकपाका जिल्ला कमिटिका नेताहरुले चर्को आलोचना गरेका हुन् । सरकार र सांसदहरु तत्काल नसच्चिए पार्टीको भविस्य नै खतरामा पर्ने भन्दै उनीहरुले सजग रहन भनेका हुन् ।

प्रदेश सरकारले कर्णालीका नेकपाका जिल्ला अध्यक्ष, सचिव र इन्चार्जसँग छलफल गरेर सुझाव मागेको थियो । सुझाव संकलनका लागि आयोजना गरिएको कार्यक्रममा नेकपाका जिल्ला नेताहरुले सरकार र सांसदहरुप्रति तीव्र असन्तुष्टी पोखेका हुन् । नेकपाका जिल्ला नेताहरुले पार्टीको निर्देशन र सुझावालाई लत्याएर अगाडि बढे सरकार र सांसदहरुको बाँकी राजनीतिक जीवन नै धराप पर्ने चेतावनी दिए ।

साथै नेकपाका नेताहरुले मन्त्री र सांसदहरुलाई बाँकी राजनीति जीवनलाई ख्याल गरेर अब सरकारका नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको । छलफलमा नेकपाका जिल्ला नेताहरुले प्रदेश सरकारले टुक्रे योजनाहरु ल्याएको, जिल्ला नेतृत्वसँग समन्वय नै नगरेको, सांसदहरु मोटाउने गरी योजना पारेका र मन्त्रीहरुले पार्टीको मूल नीति र कार्ययोजना भुलेको भन्दै सरकारको चर्को आलोचना गरे ।

यस्तै सांसदहरुले पनि पार्टीको फरक गुटका नेताकार्यकर्ता भएको ठाउँमा विकासका आयोजनाहरुमा विभेद गरेको उनीहरुको आरोप छ । जिल्ला तहमा मन्त्रालयका कतिपय योजनाहरुमा चरम बेतिथी देखिएको भन्दै यस्ता कार्य तत्काल रोक्न उनीहरुले आग्रह गरे । सरकारमा रहेका मन्त्री र सांसदहरु तत्काल नसिच्चिए उनीहरुको बाँकी राजनीतिक भविष्य पनि धरासायी हुने चेतावनी नेकपाका जिल्ला नेताहरुले दिएका छन् ।

प्रदेश सरकारले पार्टीसँग समन्वय नगर्दा जनतामा वितृष्णा बढेको र जिल्लामा पार्टीको उचाइ पनि घट्दै गएको नेताहरुको भनाइ थियो । प्रदेशमा बहुमतको सरकार हुँदा पनि जिल्ला नेतृत्वसँग समन्वय नगरेर सरकार आफूखुशी चलेको उनीहरुको गुनासो थियो ।

यस्तै प्रदेश सरकारले पनि विकास निर्माणमा गति नदिएको भन्दै आलोचना भएको छलफलमा सहभागि नेकपाका एक जिल्ला सचिवले बताए । ‘काम गर्ने वातावरण हुँदाहुँदै पनि सरकारले पार्टीको नीति विपरित मनोमानी गरेको गुनासो धेरै साथीहरुबाट आयो’ उनले भने, ‘समन्वय विनै सरकार हिँड्दा पार्टी नै आलोचना शिकार बनेको छ ।’

उनका अनुसार प्रतिपक्षभन्दा आफ्नै कार्यकर्ताले सरकारको बढी आलोचना गरिरहेको प्रशंग पनि बैठकमा उठेको जनाए । सरकारमा आफ्नै नेतृत्व हुँदा गाउँगाउँमा सरकारप्रति वितृष्णा बढेको भन्दै आगामी दिनमा जिल्ला नेतृत्वसँग समन्वय गर्न सहभागिहरुले सरकारलाई सुझाव दिएका छन् । जनताको भावना जित्ने गरी जिल्ला नेतृत्वसँग समन्वय गर्न पनि उनीहरुले सुझाएका थिए । बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कृषि व्यवस्था, भूमि तथा सहकारी मन्त्री विमला केसी तथा नेकपामा जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरु सहभागी थिए ।

सांसदको मनोमानी रोक्न माग

नेकपाका जिल्ला नेताहरुले प्रदेश सांसदहरुको मनोमानी रोक्नसमेत प्रदेश सरकारलाई निर्देशन दिएका छन् । सांसदहरुले प्रदेशबाट योजना छनौट गर्दा आफूलाई फाइदा हुने क्षेत्रमा मात्र बजेट हालेको भन्दै सांसदहरुको मनोमानी रोक्न प्रदेश सरकारसँग उनीहरुले माग गरे । ‘नेता कार्यकर्ताहरुले चुनाव जिताउँछन्, तर जितेपछि सांदहरुले धरातल भुले । आफूलाई फाइदा हुने क्षेत्रमा मात्रै योजनाह हाल्छन््’ छलफलमा सहभागी नेकपा सल्यानका सचिव कर्णबहादुर बुढाथोकीले भने, ‘सांसदको मनोमानी रोक्न हामीले सरकारलाई निर्देशन दिएका छौं ।’

निर्वाचन क्षेत्रमा बजेट पर्दा सांसदहरुको मनोमानीले गर्दा पार्टीप्रति जनताको आकर्षण घटेको उनको भनाइ छ । ‘चुनावमा जनतासँग एउटा बाचा गरिएको छ, तर सांसदले आफू र आफ्ना नातेदारलाई मोटाउने गरी बजेट हाल्छन्’ नेकपाका अर्को जिल्ला सचिवले भने ‘जनतालाई निराश बनाउने र सांसदहरु मोटाउने प्रवृतिको अन्त्य गर्न सरकारसँग माग गरेका छौ ।’ विकास निर्माणका आयोजनाहरुमा जिल्लाकै सांसदहरुले पार्टी नेतृत्वसँग समन्वय नगर्दा जनतामा निरासा पैदा भएको नेकपाका जिल्ला नेताहरुको भनाइ छ ।

टुक्रे योजना रोक्न सुझाव

यस्तै नेकपाका जिल्ला नेताहरुले प्रदेश सरकारलाई टुक्रे योजना रोक्न सुझाव दिएका छन् । सरकारले नीति तथा कार्यक्रमहरु बनाउँदा बढीभन्दा बढी लक्षित बर्गलाई केन्द्रीत गर्न र टुक्रे योजनामा बजेट नछर्न सुझाव दिएका छन् । ‘प्रदेशको विकासका लागि सरकारसँग योजना आयोग छ, तर सरकारले भने टुक्रे आयोजना मात्रै ल्याउँछ’ छलफलमा सहभागी नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले भने, ‘टुक्रे योजनाले प्रदेशको विकास हुँदैन, हामीले दीर्घकालिन योजनासहितका कार्यक्रममा मात्रै बजेट हाल्न भनेका छौंँ ।’

सरकारमा सहभागी प्रतिनिधिहरुले आफूलाई फाइदा पुग्ने गरी टुक्रे योजनाहरुमा बजेट हाल्दा विकासले गति लिन नसकेको उनको भनाइ छ । ‘साना योजनामा बजेट खर्च हुन्छ, तर देखिने विकास हुँदैन’ उनले थपे ‘पार्टीको कार्यायोजना र नीति निर्देशनमा रहेर सरकारमा सहभागी प्रतिनिधिले विकासको खाका ल्याउन् भन्ने हाम्रो चाहना हो ।’ सरकारका प्रतिनिधिहरुले पार्टीको कार्यनीतिलाई असर नपर्नेगरी काम गर्नुपर्ने, आफन्तलाई केन्द्रित गरी योजना छनौट गर्ने प्रक्रिया रोख्नुपर्ने लगायतका सुझाव दिएको जिसीले जानकारी दिए ।

तीन वटै सरकारलाई समन्वय गर्न आग्रह

विकास निर्माण गर्दा तीन वटै सरकारबीच देखिएको मतभेद हटाएर एक आपसमा समन्वय गर्न समेत नेकपाका नेताहरुले सुझाव दिएका छन् । तीन तहका सरकारमा नेकपाको नेतृत्व रहँदा पनि आफूखुशी विकासका योजना बनाउने गरेको भन्दै प्रदेश सरकारले त्यसको समन्वय गर्न माग गरेका छन् । सरकारबीच समन्वय नहुँदा, स्थानीय सरकार प्रमुख, सांसद र मन्त्रीको क्षेत्रमा मात्रै ठूला विकास आयोजनाहरु परेको सहभागीहरुको भनाई थियो । सबै सरकारले समन्वय गरेर सरकारकार राम्रा कामको जनतासँग प्रचारप्रसार गर्न सहभागीले धारणा राखेका थिए ।

मन्त्रीलाई सच्चिन आग्रह

त्यस्तै कर्णाली प्रदेशका मन्त्रीहरुलाई सच्चिन नेकपाका नेताहरुले आग्रह गरेका छन् । सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय र पर्यटन मन्त्रालयका योजनामा चरम बेतिथि देखिएकोे भन्दै सम्बन्धित मन्त्रीहरुलाई सच्चिन समेत सझुाव दिइएको छ । ‘कृषिको अनुदानको बजेट, डिजिटल विद्यालय कार्यक्रम र पर्यटकीय पदमार्ग लगायतका योजनामा चरम बेतिथी छ’ नेकपाका जिल्ला नेताहरुको भनाइ थियो,‘यस्ता कार्यक्रमले पार्टीबारे नराम्रो प्रचार भयो, यस्ता योजनाको बेतिथि सम्बन्धित मन्त्रीले नै अब रोक्नुपर्छ ।’ (युगअाह्वान दैनिकबाट)

प्रकाशित मितिः     ९ मंसिर २०७६, सोमबार ११:१८  |