फुसको छानोबाट शुरु भएको स्कुलको प्राविधिक शिक्षालय खोल्ने योजना


बानियाभार ( बैजनाथ) – धाइराको बार । फुसको छानो । न विद्यार्थी बस्ने बेन्च/डेक्स नत शिक्षकका लागि कुनै सुविधा । अनेकन दुःख गरेर २०४९ सालमा एउटा कोठाबाट शुरु भएको बाँके बैजनाथ गाउँपालिका–४ बनियाभारस्थित विपी मेमोरियल माविले प्राविधिक शिक्षालय खोल्ने योजना बनाएको छ । विद्यालय स्थापनाको अढाई दशकपछि ठुलो सुधार गर्ने लक्ष्य सहित आर्थिक स्रोत जुटाउन धार्मिक यज्ञ गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजमोहन थारु बताउँछन् ।

‘यो विद्यालयको इतिहास निकै लामो छ । हाम्रा अग्रजहरुले धेरै दुःख, कष्ट गरेर विद्यालयलाई यहाँसम्म ल्याई पुर्याउनुभयो ।’ अध्यक्ष थारु भन्छन्–‘अब हामी यसलाई सके जति परिवर्तन गर्ने गरी अगाडी बढिरहेका छौं ।’ विद्यालयमा प्राविधिक शिक्षालय पढाउने लगायतका महत्वकांक्षी योजना अघि सारिएको छ भने आर्थिक स्रोत जुटाउन मंसिर ११ गतेदेखि १८ गतेसम्म शैक्षिक धार्मिक एवं सांस्कृतिक ज्ञान महायज्ञ गर्न थालिएको छ । अहिले अध्यक्ष थारु, अभिभावक, बिद्यालयका प्रअ, शिक्षक, शिक्षिका त्यसैको तयारीमा ब्यस्त छन् ।

प्रअ गुन्जबहादुर केसी भन्छन्,–‘राम्रै तयारी गरिरहेका छौं । हाम्रो तयारीले दाता आएर सहयोग जुट्यो भने बिद्याललाई राम्रो हुने हो ।’ प्रअ केसीका अनुसार, यतिबेला बिभिन्न समिति बनाएर काम भइरहेका छन् । स्थानीय महिला सक्रियतापूर्वक महायज्ञको तयारीमा जुटेका छन् । ‘यहाँ प्राविधिक शिक्षालाय खुल्यो भने हाम्रै बालबालिकालाई राम्रो हुने हो । त्यसै भएर बिहानदेखि साँझसम्म काममा जुटेका छौं ।’– स्थानीय महिला अगुवा धनमाया बिष्टले भनिन् ।

उतिबेला बिद्यालय थिएन । यहाँका बालबालिका पढ्नका लागि तीन किलोमिटर भन्दा टाडा पैदल हिडेर गाभर वा नौलापुर जानुपर्ने बाध्यता थियो । अझ मावि तह पढ्नका लागि त चिसापनी र कोहलपुर धाउनुपर्ने अवस्था थियो । नजिक स्कुल नभएपछि कयौं बालबालिका स्कुल नगई घरमै काम गर्न बाध्य भएका थिए । ‘यस्तै समस्या देखेपछि स्थानीय भद्र, भलाद्मीले स्कुल खोल्नुभएको हो ।’– बिद्यालय स्थापना कालदेखिकै शिक्षिका दुर्गा शाहले भनिन् । बिद्यालय खोलेपछि अधिकांस बालबालिकाले स्कुल पढ्न पाएका थिए । शाहले १५वर्ष प्रअ भएर स्कुल चलाएकी थिइन । उनले फुसको छानो र धाइराले बारेको स्कुलमा पानी चुहिदा समेत बिद्यार्थी पढाएकी थिइन । ती दिन सम्झदै शाह भन्छिन्,–‘दुई कक्षासम्म पढाई हुन्थ्यो । फुसले छाएको र धाइराले बारेको एउटा मात्र कोठाको स्कुल थियो । बिद्यार्थीले घरबाटै बोरा ल्याएर बस्थे, हामी भने माटोको ढिस्कोमा बसेर पढाउँथ्यौ ।’ त्यसरी शुरु भएको बिद्यालयले अनेक परिवर्तन व्यहोर्दै यहाँसम्म आएकोमा शाह खुसी छन् ।

बिद्यालय स्थापना गर्न स्थानीय भद्र भलाद्मीको भूमिका महत्वपूर्ण छ । सिमलघारीका सन्तकुमार खड्का, युवा अवस्थामै बिद्यालय खोल्न अग्रसरता देखाउने मेघराज ओली, मोहन शाह, केशव शाह, रामबहादुर बम, कलबहादुर शाह लगायत थारु समुदायका अगुवाले महत्वपूर्ण भूमिका खेलेका थिए । शुरुमा महेन्द्र ओली र बिष्णु बमले पढाए । उनीहरु पश्चात दुर्गा शाह आइन । उनलाई साथ दिन केबबहादुर ओलीको महत्वपूर्ण भूमिका रहेको थियो ।

अनेकन समस्याले बिचमा बिद्यालय बन्द समेत भयो । तर स्थानीय अगुवाले बिद्यालयलाई अगाडी बढाउन निरन्तर प्रयत्न गरे । कुनै बेला बिद्यालय भएको ठाउँ मरुभुमी जस्तो उजाड डाडैडाडाले घेरेको थियो । कतिपयले उक्त स्कुललाई डाडा स्कुल समेत बन्थे । तर बृक्षारोपण पछि अत्यन्त आर्कषण जङ्गलमा रुपान्तरण भएको छ, उक्त स्कुल । डाडा स्कुलबाट हरित स्कुलमा रुपान्तरण भएझैं अब प्राविधिक शिक्षा स्थापना गरेर बिद्यालयलाई परिवर्तन गर्ने योजना शुरु भएको बिद्यालयका प्रअ केसी बताउँछन् । उनी भन्छन्,–‘यसमा हामीलाई सबैको साथ चाहिन्छ ।’

‘बिद्यालयको मुहार फेर्ने योजना छ’

 

राजमोहन थारु
अध्यक्ष
बिद्यालय व्यवस्थापन समिति

२०४९ सालमा स्थापना भएको यो बिद्यालय आर्थिक, भौतिक दृष्टिकोणले तुलनात्मक रुपले पछाडी छ । यसको मुख्य कारण यहाँका अधिकांस अभिभावक गरिबीको चपेटामा परेका जनजाती, मुक्तकमैया एवं दलित समूदाय हुनु हो । जो शिक्षाको चेतनास्तरबाट अलि टाडा रहनु भएको छ । समुदायस्तरबाट नेतृत्वदायी भूमिकाको अभाव, सरकारी सेवा सुविधाबाट बन्चित रहेको अवस्था छ ।

यो बैजनाथ गाउँपालिकामा समुदायस्तरबाट सन्चालन भएको अति नै महत्वपूर्ण शैक्षिक संस्था हो । यसलाई अझ परिवर्तन गर्ने उदेश्य राखेर हामीले मंसिर ११ गतेदेखि १८ गतेसम्ममा धार्मिक यज्ञ गर्दैछौं । यसको उदेश्य प्राविधिक शिक्षालय निर्माण गर्नेदेखि सुसंस्कृ एवं सभ्य समाज निर्माण गर्नु हो । हामीले यस्ता धेरै योजना अगाडी सारेका छौं । आशा छ सबै क्षेत्रबाट हामीलाई सहयोग रहनेछ ।

प्रकाशित मितिः     5:27:48 PM  |