सुझबुझ अपनाएर शेयरमा लगानी गर्न आग्रह


नेपालगञ्ज ११ मंसिर – शेयरमा लगानी गर्ने क्रम बढेको सरोकारवाला निकायका अगुवाले बताएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको आयोजना र वाइको प्रालि , कालिका सेक्युरिटीज र इम्पोरियल सेक्युरिटिजको सहआयोजनामा नेपालगन्जमा आज बुधवार भएको पूँजी बजार प्रर्बद्धन कार्यक्रममा बोल्दै सरोकारवाला क्षेत्रका अगुवाले सुझबुझका साथ लगानी गरे शेयरमा राम्रै आम्दानी हुने बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पैसा त्यसै खेर फाल्नुभन्दा शेयरमा लगानी गर्न सुझाए । उनले भने,–‘हाम्रा लागि यो कुरा नभए पनि बुझेर लगानी गर्दा केही फरक पदैन ।’ उनले शेयरका बारेमा बुझाउन नेपालगञ्जमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको समेत बताएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपानले शेयरका बिषयमा नेपालमा धेरै परिवर्तन भइसकेको बताउँदै लगानीकर्तालाई लगानीका लागि आग्रह गरे । उनले भने,–‘हामीले धेरै कुराको परिवर्तन गरेका छौं । बर्बाद भईन्छ की ध्वस्त भइन्छ की भन्ने चिन्ता नगर्नुहोस् ।’ अध्यक्ष न्यौपानेले मोफसलमा पनि शेयरका बारेमा तिव्र चासो प्रकट हुनु राम्रो कुरा भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सिइओ चन्द्रसिंह साउदले शेयर बजार प्रविधिमैत्री बनाइएकाले कुनै प्रकारको चिन्ता नलिन सरोकारवाला निकायसंग आग्रह गरे । उनले नेपालको शेयर बजारको भविष्य राम्रो भएको बताउँदै लगानी गर्न आह्वान गरे । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्ति शर्माले सुझबुझका साथ शेयरमा लगानी गर्दा कुनै प्रकारको समस्या नहुने तर सुझबुझ आवश्यक रहने बताए । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निर्मल गिरी, इम्पेरियल सेक्युरिटिजका प्रबन्धक भक्तीराम घिमिरे एवं कार्यक्रम सन्चाल नेपालगञ्जका प्रमुख उदय अधिकारीले शेयर बजारका बारेमा बिभिन्न बिषयमा कुरा राखेका थिए ।

प्रकाशित मितिः     3:13:19 PM  |