६० डलरमै ‘रुम’ बेच्न थालेपछि नयाँ होटल निर्माण ‘होल्ड’ 


६० डलरमै ‘रुम’ बेच्न थालेपछि नयाँ होटल निर्माण 'होल्ड' 

  • क्यापिटल नेपालबाट

काठमाडौं । तारे होटल ६० डलरमै रुम बेच्न थाले पछि नयाँ होटल निर्माण कार्यहरु स्थगित हुन लागेका छन् । लागत अनुसार होटलको रुम बेच्दा मूल्य नआए पछि लगानीकर्ताले निर्माणाधिन होटलको निर्माण कार्यलाई होल्ड गर्नुपरेको बताएका हुन् । नेपालमा सञ्चालित तारे होटलहरुले आफ्नो रुमको बिक्री दर औषतमा १ सय १० रहेको छ ।

काठमाडौंमा सञ्चालित तारे होटल तथा अन्तर्राष्ट्रिय चेन होटलले लागत समेत नउठ्ने गरी सस्तो मूल्यमा पर्यटकलाई रुम उपलब्ध गराउन थालेपछि   होटल निर्माण होल्ड गरेको एक लगानीकर्ताले बताए । खासगरी, अन्तर्राष्ट्रिय चेन होटल ‘शेराटन’, हिल्टन डबल ट्री, ह्यात प्यालेसलगायतले होटल निर्माण कार्यलाई होल्ड गरेको उनको भनाई छ ।

केही समय अघि एक अन्तर्राष्ट्रिय चेन होटलले ६० डलरमै रुम बेचेका थिए । औषत मूल्य भन्दा करिब ५० प्रतिशत कम मूल्यमा रुम बिक्री गर्दा लागत समेत नउठ्ने लगानीकर्ताको जिकिर छ । ‘अहिले तुलनात्मक रुपमा पर्यटकको सङ्ख्या बढिरहेको छ ।  अधिकांश होटलहरुको अकुपेन्सी पनि राम्रो छ,’ ती लगानीकर्ताले भने, ‘तर, दुई महिना अकुपेन्सी राम्रो भएर के गर्नु ? बर्षभरी अकुपेन्सी आधा मात्रै हुन्छ ।’

दुई महिनाको व्यवसायले बर्षभरीको खर्च धान्न मुस्किल हुने गरेको होटल व्यवसायीहरुको गुनासो छ । ‘बैङ्कलाई बुझाउनुपर्ने सावाँ ब्याज बुझाउनै पर्छ । दुई महिना भरिभराउ भएर कसरी बैङ्कको ब्याज तिर्नु ?’ एक व्यवसायीले भने ‘बरु केही समय होटल निर्माणलाई नै होल्ड गर्दा फाइदा हुन्छ ।’
होटल निर्माणाधिन अवस्थामा बैङ्कको ब्याज मात्रै तिर्नु पर्ने तर, सञ्चालन पछि अन्य धेरै खर्च हुन्छ । सो खर्चबाट जोगिन पनि निर्माणकार्य होल्ड राख्नुको बिकल्प नभएको उनको भनाई छ ।

शेराटन होटल २०१८ मै सञ्चालनमा आइसक्नुपर्ने हो । त्यस्तै हिल्टन डबल ट्री तथा ह्यात प्यालेस पनि चलिसक्नु पर्ने हो । तर, आवागमनको सङ्ख्या बढे गुणस्तरिय पर्यटक नबढेको तथा उनीहरु सस्तो होटलमा बस्ने गरेपछि निर्माण कार्यलाई ‘एग्रेसिभ’ नबनाइएको उनीहरु बताउँछन् ।

नेपालमा कम खर्च गर्ने पर्यटकको सङ्ख्या मात्रै बढिरहेको छ । पर्यटकले दैनिक खर्च गर्ने रकम पनि घटिरहेको छ । यस्तो अवस्थामा नयाँ स्तरिय होटल ल्याएर लगानी गर्नु जुवा खेल्नु जस्तो भएको उनीहरुको बुझाइ छ ।

एकातिर होटल व्यवसायीबीच चर्को प्रतिस्पर्धा छ भने अर्कोतिर खर्चालु पर्यटक आउँदैनन । सोहि कारण रुम खाली राख्नु भन्दा सस्तो मूल्यमा बिक्री गरेर नोक्सान कम गर्ने स्थितिमा होटल व्यवसायी पुगेका छन् । सोहि कारण नयाँ लगानीकर्ताहरुले त्यस्तो जोखिम लिन चाहदैनन् । ‘अहिले जसोतसो बैङ्कको ब्याज तिरिरहेकै छौं’ एक लगानीकर्ताले भने, ‘तर, कर्मचारीलगायतमा हुने खर्च त जोगिएको छ । बैङ्कलाई तिर्ने ब्याज भन्दा कर्मचारीलगायतमा बढी खर्च हुन्छ ।’

प्रकाशित मितिः     ११ मंसिर २०७६, बुधबार १७:४५  |