नेपालगञ्ज बारे योगेश भट्टराई–‘मिलेर सम्भावना खोजौ,निरासा मात्र नपोखौ ?’


बागेश्वरी मन्दिरको दर्शन गर्दै पर्यटन मन्त्री भट्टराई, साथमा प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा ।

नेपालगञ्ज १२ मंसिर – पर्यटनमन्त्री योगेश भट्टराई मंसिर ७ गते नेपालगञ्ज आए । राँझा बिमानस्थलमा ओर्लिने वित्तिकै होटल सिद्धार्थ पुगे । त्यहाँ पुग्ने वित्तिकै शुरु भयो नेपालगञ्जका पर्यटनसंग सरोकार राख्ने उद्योगी, व्यवसायीसंगको छलफल । उद्योगी, व्यवसायीले सरकारको नजरबाट टाडा पर्दै गएका कारण नेपालगञ्ज निरास हुने अवस्थामा पुगेको दुखेसो गरे । पर्यटनमन्त्रीले ध्यानपूर्वक नेपालगञ्जका दुखेसो/गुनासा सुनिरहे । व्यवसायीका तर्फबाट दिइएको अब सरकारले के–के गनुपर्छ भन्ने सूचिसहितको ज्ञापनपत्र बुझे ।

छलफल सकिदा रातीको दश बजिसकेको थियो । सबै आ–आफ्नो ठाउँ लागे । बिहान सुर्य उदाउन नपाउँदै पर्यटन मन्त्री भट्टराईको व्यस्तता फेरी शुरु भयो । मध्यान्हसम्म आधा दर्जन बढि कार्यक्रमका उनी सहभागि भइसकेका थिए । कार्यक्रम फरक भए पनि सहभागिहरुले पर्यटनमन्त्रीलाई एउटै कुरा सुनाउँथे,–‘नेपालगञ्ज पछि परयो । सरकारले हेरेन ।’

नेपालगञ्जका निरासा अस्वभाविक होइन । संघीयता कार्यान्वयन पछि पछि परेको यहाँ महसुस गरिएको छ । सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै अन्यत्र सरेका छन् । मान्छेको ‘फ्लो’ घटेको कयौले महसुस गरेका छन् । यस्ता कुरा हरेक मन्त्री र उच्चपदस्त सरकारी कर्मचारी आउँदा सुनाइन्छ । नेपालगञ्जको यस्तो ‘दर्द’ पर्यटन मन्त्रीले नबुझ्ने कुरै भएन । उनले संघीयता कार्यान्वयनका बेला भावनामा बगेर प्रदेश बनाउँदा नेपालगञ्ज पछि परेको स्पष्ट शब्दमा बताए । रांझा बिमानस्थलको गुरुयोजनाका बारेमा छलफल गर्न आयोजित कार्यक्रममा मन्त्री भट्टराईले भने,–‘हिजो जे नहुनु पथ्र्यो त्यो भयो । अब तत्काल सच्चिने सम्भावना छैन । यहाँको दुःखका बारेमा जानकार छौं ।’

पर्यटन मन्त्री भट्टराईले राजधानी नबन्दैमा नेपालगञ्ज पछि पर्नुपर्ने कुनै कारण नभएको बताउँदै चिन्ता नगर्न आग्रह गरे । उनले भने,–‘औद्योगिक र पर्यटनको हब बन्ने दौडमा रहेको शहर त्यसै पछि पर्दैन । तारे होटल र क्यासिनो आर्कषण नभएर खुलेका होइनन् । अनाबश्यक निरासाको गीत गाउन छाड्नुहोस् ।’ सोही दिन आयोजना भएको नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा व्यवसायीहरुले सरकारले नेपालगन्जलाई नजरअन्दाज गरेको बताए । जबाफमा पर्यटनमन्त्रीले भने,–‘त्यस्तो नजरअन्दाज पहिलेको सरकारले गरेको थियो होला । यो सरकारले गर्दैन ।’ नेपालगञ्ज बन्दै गएको र सरकारकै नजरमा रहेको बताउँदै भट्टराईले अनावश्यक निरासा जगाउँदा त्यसले कुनै प्रतिफल नदिने स्पष्ट शब्दमा बताए ।

प्रकाशित मितिः     8:49:57 AM  |